पोखरा ।
प्रोटिनको महत्त्व, पोषण र शारीरिक तन्दुरुस्तीबारे जनचेतना फैलाउने उद्देश्यले पोखरामा पहिलोपटक ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुने भएको छ ।
नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको आयोजनामा असोज ३ गते पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट दौड सुरु हुनेछ । बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगितामा चार हजारभन्दा बढी धावक सहभागी हुने जनाएको हो ।
‘प्रोटिनका लागि दौडौं, स्वास्थ्यका लागि दौडौं, स्वस्थ नेपालका लागि दौडौं’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा आठ विधामा प्रतिस्पर्धा हुनेछ । पुरुष र महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, पुरुषतर्फ १० किलोमिटर खुला दौड, महिलातर्फ ५ किलोमिटर खुला दौड तथा कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ र ३ किलोमिटर दौड हुनेछ। पुरुष र महिलातर्फ ३–३ किलोमिटर ह्विलचेयर दौड पनि समावेश गरिएको छ ।
प्रतियोगितामा कुल १६ लाख रुपैयाँ पुरस्कार राखिएको छ । हाफ म्याराथनका पुरुष र महिलातर्फ प्रथम हुनेले जनही एक लाख ५० हजार रुपैयाँ, दोस्रोले १ लाख, तेस्रोले ५० हजार, चौथोले ३० हजार र पाँचौंले २५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधामा पनि पहिलोदेखि पाँचौं स्थानसम्मका धावकलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
दौड बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः सोही मार्गबाट बसुन्धरा पार्कमै आएर सकिनेछ । दौडमार्गमा खानेपानी, हाइड्रेसन स्टेसन, प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सेवाको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनका कार्यक्रम संयोजक समेज राजभण्डारीले पोखरामा खेलकुद, स्वास्थ्य र पर्यटनलाई जोड्दै प्रोटिनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।
त्यस्तै डा. अशेष भट्टराईले प्रोटिनको आवश्यकता र गुणस्तरीय प्रोटिनका स्रोतबारेको समुदायस्तरसम्म पु¥याउन दौडलाई अभियानका रूपमा अघि बढाइएको बताए । अण्डा, दूध, माछा, मासु, पनीर, दाल तथा गेडागुडीजस्ता प्रोटिनका स्रोतबारे समेत जनचेतना फैलाइने उनले बताए ।
यूएस सोयाबिन एक्सपोर्ट काउन्सिलको मुख्य प्रायोजन र नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताले पोखरालाई खेलकुद तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०८३ भदौ ४ गते बिहीबार ०४:४९




