पोखरा ।
पोखरामा हुने फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को तयारी पुरा भएको छ ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजना एवं फेवा मल्टिप्रडक्ट पोखराको मुख्य प्रायोजनमा यही मंसिर ९ गतेदेखि १५ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, नेपाल आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ र आयोजक किङ्स पोखरा विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी खेलाडीका लागि पुरस्कारसँगै आवास, भोजन, यातायात, खेलमैदान तथा प्राविधिक व्यवस्थापनलगायतका व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण गरिने छ ।
प्रतियोगिताका सबै खेल अवलोकन गर्न मिल्ने गरी २ हजार ५०० रुपैयाँको सिजनल पासको समेत व्यवस्था गरिएको अध्यक्ष अशोक गुरुङले बताए ।
कल्बका सचिव अशोक थापाले प्रतियोगितालाई व्यवस्थित, आकर्षक र दर्शकका लागि अविस्मरणीय बनाउने तयारी भइरहेको जनाउँदै खेलप्रेमी, दर्शक, खेलाडी, प्रशिक्षक, रेफ्री, सञ्चारकर्मी तथा शुभेच्छुकलाई प्रतियोगितामा सहभागी जनाइदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति २०८३ मंसिर ८ गते सोमबार ०५:२०





