पोखरा ।
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
काठमाडौंमा शनिबार आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
नेतृ सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र राजनीतिक तयारीलाई तिब्रता दिनुपर्नेमा जोड दिइन् ।
अहिलेको राजनीतिक परिस्थितिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट पैदा भएको उल्लेख गर्दै सुवेदीले प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्नु नै समाजवादी क्रान्तिको आधार भएको बताइन् ।
उनले सदन, सडक र सरकारका तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने पार्टीको नीति रहे पनि हाल संघीय संसद्मा न्यून उपस्थिति र केन्द्रिय सरकारमा सहभागिता नरहेकाले सडक मोर्चा नै मुख्य विकल्प भएको दाबी गरिन् ।
उनले भनिन्, ‘हामी अहिले समाजवादी क्रान्तिको तयारीको पनि पूर्वतयारीको चरणमा छौँ । यसका लागि आम कार्यकर्ता र जनताका बीचमा आधारभूत सिद्धान्त र राजनीतिक कार्यदिशालाई प्रस्ट पार्दै लैजानु हाम्रो मुख्य कार्यभार हो । अहिले राष्ट्रियताका मुद्दाहरू सङ्कटपूर्ण बन्दै गएका छन्, जनतन्त्र र जनजीविकाका सवालहरू ओझेलमा परेका छन् । महँगी, कालाबजारी, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्याले जनता आक्रान्त छन् । तर हामी सङ्गठनात्मक काममा मात्रै अल्झिँदा सडकमा सशक्त उपस्थिति जनाउन सकिरहेका छैनौँ ।’
नेतृ सुवेदीले सङ्गठनात्मक प्रक्रियालाई यथासक्य चाँडो सम्पन्न गरी सरकारका जनविरोधी कदमविरुद्ध जनताको आवाज लिएर सडकमा निस्कन कार्यकर्ताहरूलाई निर्देशन दिइन् ।
पार्टीको आवश्यकता अनुसारको खबरदारीका लागि सडकमा उत्रिन सङ्गठन सधैँ तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८३ भदौ ६ गते शनिबार ०२:५८




