पोखरा ।
बेगनास तालको पर्यटन प्रवद्र्धन, स्थानीय माछाका परिकारको बजारीकरण तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पोखरामा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ ।
‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा कात्तिक १३ देखि २३ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजना गर्ने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
महोत्सवमा स्थानीय जातका माछा तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला र देउसीभैलो प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।
विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ । एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले बेगनास क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकको आकर्षण बढाउने लक्ष्य रहेको बताए ।
महोत्सवले स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवद्र्धनसँगै क्षेत्रको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीका अनुसार फिस फेस्टिभलको सुरुआत २०७१ सालमा भएको थियो । पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म महोत्सव आयोजना हुन सकेको थिएन ।
कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै लोप हुँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण तथा स्थानीय माछाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले छैटौँ संस्करण आयोजना गर्न लागिएको उनले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्रका आठवटै ताललाई तिनको विशेषताका आधारमा व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताए ।
तालको पहिचानअनुसार प्रवद्र्धन गर्दै कुनै एक ताललाई जलक्रीडा केन्द्रका रूपमा विकास गर्न सके पर्यटकको आकर्षण बढ्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिका आर्थिक विकाश महाशाखा प्रमुख मनहर कडरियाले स्थानीय माछाका परिकार र रैथाने खानाको प्रवद्र्धनले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन तथा पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने बताए ।
उनले यसका लागि महानगरपालिकाले सहकार्य गर्ने उल्लेख गरे ।
एसोसिएसनकी सचिव शक्ति श्री कोइरालाका अनुसार महोत्सव सञ्चालन गर्न करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टलबाट प्राप्त हुने आम्दानीलगायत स्रोतबाट खर्च व्यवस्थापन गरिनेछ ।
महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको उनले बताइन् ।
प्रकाशित मिति २०८३ असोज २५ गते आइतबार ०२:४९




