पोखरा ।
हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण, लेखापरीक्षण प्रतिवेदन, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलगायतका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मदनप्रसाद आचार्यले देशमा विभिन्न विपत्ति आइरहेको र धनी तथा गरिबबीचको असमानताको खाडल गहिरिँदै गएको अवस्थामा गरिब तथा विपन्न समुदायको आशाको आधार बनेको सहकारी क्षेत्रसमेत स्वार्थी प्रवृत्तिको प्रभावमा पर्नु चिन्ताको विषय भएको बताए । सहकारी क्षेत्रमा सुशासन कायम गर्दै सदस्यको विश्वास जितेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका सचिव विश्वबन्धु थापाले सहकारी नीति र प्रविधिलाई आधार बनाएर संस्था अघि बढिरहेको बताए । आगामी दिनमा पनि यही नीति अवलम्बन गर्दै सदस्यलाई प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
संस्थाका कोषाध्यक्ष केदारबहादुर कार्कीले प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको सेयर पुँजी ३ करोड ३७ लाख ६७ हजार ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको सेयर लगानी २० लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । संस्थाले सेयर सदस्यलाई ७ दशमलव ५ प्रतिशत बोनस दिने जनाएको छ ।

तत्कालीन अवस्थामा १४० जना सदस्यबाट सुरु भएको संस्थामा हाल सदस्य संख्या बढेर १ हजार ९१४ पुगेको छ । सदस्यहरूको सहभागिता र विश्वासका आधारमा संस्थाले आफ्नो सेवा तथा गतिविधिलाई विस्तार गर्दै आएको छ ।
साधारणसभाको अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्न सफल सेयर सदस्यका चार जना छोराछोरीलाई सम्मान गरेको छ । विद्यार्थीको शैक्षिक उपलब्धिको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला सहकारी संघका अध्यक्ष तथा हितैशी शहकारीका संस्थापक अध्यक्ष शेरबहादुर कार्कीले सहकारी संस्थाहरूले सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । सहकारीको उद्देश्य पूरा गर्न पारदर्शिता, सुशासन र सदस्यप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । संस्थाले आगामी दिनमा सहकारीका नीति, नियम र प्रविधिलाई आत्मसात् गर्दै सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हितैषी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा पोखरा महानगरपालिका–१६, मध्यपथस्थित मझेरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।





