काठमाडौँ ।
अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण काठमाडौँमा चलिरहेको छ । एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ ।
एनपिएल अन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनौँ खेलाडीहरु नेपालमा आएका छन्, उनीहरुको बसाइँ ठूलाठूला होटलमा भइरहेको छ । यसले होटल पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ पुगेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।
शाहकाअनुसार एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकारात्मक भुमिका खेलेको छ । प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिम ठूला होटलसँग आवद्ध हुनु र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटलमा सेवा लिनुले आतिथ्य उद्योगमा प्रत्यक्ष प्रभाव पारेको छ ।
एनपीएलमा सहभागी सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका फ्रेन्चाइज टिमका समर्थकहरू आफ्ना टिमको खेल हेर्न विभिन्न ठाउँबाट आएर होटलमै बसिरहेका छन् । यसले होटल तथा आवास, खानपान र यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पु¥याएको शाहको भनाई छ ।
प्रतियोगिताका क्रममा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले महिनादिनसम्म होटलमा सेवा लिने भएकाले होटल व्यवसायलाई समेत लाभ पुगेको उनले बताए ।
शाहले एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपालमा खेलिने प्रतियोगितालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउन सके दक्षिण एशियाका क्रिकेटप्रेमीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ ।
उनकाअनुसार अब एनपीएललाई आधार बनाएर स्पोट्र्स टुरिजमलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु पनि नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर हो ।
यसलाई उपयोग गर्दै विदेशी खेलाडी तथा टिमको सहभागिता बढाउन र नेपालमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके खेलकुद पर्यटनको दायरा विस्तार गर्न सकिन्छ । विशेषगरी दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टिमलाई नेपालमा ल्याएर खेलाउने सम्भावनामा ध्यान दिनुपर्ने शाहको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उल्लेख गर्दै उनले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए ।
स्पोट्र्स टुरिजम प्रवद्र्धनका लागि विभिन्न क्षेत्रबीच सहकार्य भइरहेको भएपनि त्यसलाई ठोस योजना र व्यवस्थित कार्यक्रममार्फत अगाडि बढाउन आवश्यक रहेको उनको भनाई छ । उनकअनुसार नेपाल प्रिमियर लिग (एनपीएल) र क्रिकेटलाई आधार बनाएर स्पोट्र्स टुरिजम प्रवद्र्धन गर्नुपर्छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष शाहले भने, ‘एनपीएलले एउटा राम्रो सकारात्मक सन्देश दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले क्रिकेटमार्फत राम्रो प्रदर्शन गरिरहेको छ । यसले पर्यटनमा पनि प्रत्यक्ष प्रभाव पार्ने र फाइदा पु¥याउने देखिन्छ। अहिले एनपीएलका आठवटा फ्रेन्चाइज टिम छन् । तीमध्ये प्रत्येक टिम कुनै न कुनै ठूला होटलसँग आबद्ध छ । यो आफैँमा राम्रो कुरा हो । देशभरिका फ्रेन्चाइज टिमहरू छन् । सुदूरपश्चिम, विराटनगर, लुम्बिनी, चितवनलगायतका टिमका समर्थकहरू आफ्नो टिमको खेल हेर्न आउँछन् । त्यसले नेपालको आतिथ्य उद्योग, आवास, खानपान र यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ । यसमा स्पोट्र्स टुरिजमलाई अगाडि बढाउनुपर्छ । एनपीएल र क्रिकेटलाई नै आधार बनाएर हामीले स्पोट्र्स टुरिजम प्रवद्र्धन गर्न सक्छौँ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता टेस्ट खेल्ने राष्ट्रहरूबाट पनि पर्यटक ल्याउन सकिन्छ । ती देशका खेलाडीहरू नेपालमा आएर खेलिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि एनपीएललाई मान्यता दिइसकेको छ । अहिले स्टार स्पोट्र्सजस्ता टेलिभिजन च्यानलमार्फत धेरैले एनपीएल हेरिरहेका छन् । त्यसैले नेपाललाई पर्यटन गन्तव्यका रूपमा चिनाउन पनि यसको उपयोग गर्नुपर्छ । स्पोट्र्स टुरिजम बढाउने विषयमा हामी सहकार्य गरिरहेका छौँ । तर, एउटा ठोस योजना बनाएर योजनाबद्ध रूपमा अगाडि बढ्न सके देशले अझ बढी फाइदा लिन सक्छ। एनपीएलले स्पोट्र्स टुरिजमको ठूलो सम्भावनाको ढोका खोलेको छ । ठूला फ्रेन्चाइज टिमहरू ठूला होटलसँग आबद्ध छन् । उनीहरूका स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकहरूले पनि त्यही होटलमा सेवा लिइरहेका छन् । करिब दुईदेखि तीन हप्ता वा महिनादिनसम्म चल्ने प्रतियोगिताका कारण होटल व्यवसायमा राम्रो प्रभाव पर्छ । यसलाई अझ व्यवस्थित गर्नुपर्छ । हामीले दक्षिण एसियाका ठूला क्रिकेट खेल्ने राष्ट्रहरू, विशेषगरी भारतका टिमहरूलाई नेपालमा ल्याएर खेलाउन सक्छौँ । अहिले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि स्तरीय भइसकेको छ । त्यसैले विदेशी टिमहरूलाई नेपालमा ल्याएर खेलाउने सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ ।’
अध्यक्ष शाहले अहिले नेपालमा पर्यटक भित्राउन अनुकूल मौसम रहेको पनि बताए । उनकाअनुसार दसैँ सकिएर तिहार नजिकिएको यस समयमा विदेशी पर्यटकको रुचि विशेषगरी पदयात्रा तथा शाहसिक पर्यटनमा रहने गरेको छ ।
मौसम अनुकूल भएकाले यस अवधिमा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ । तर रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा केही असर पारेको छ । उक्त घटनापछि नेपाल भ्रमण गर्न सुरक्षित छ कि छैन भन्ने विषयमा विदेशी पर्यटकले बढी सोधपुछ गरिरहेका छन् ।
मौसमसम्बन्धी अनिश्चितताले पनि पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले नेपालका पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको बुझाइ छ ।
उनकाअनुसार कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन प्रभावित हुने गरी सन्देश जान नदिन सरकारी निकायले समन्वय गर्न आवश्यक रहेको शाहले बताए ।
शाहकाअनुसार नेपालमा पर्यटनको सम्भावना र सेवा दिनसक्ने क्षमता बढे पनि अपेक्षाअनुसार पर्यटक भित्राउन सकिएको छैन । यसको मुख्य कारण अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीको सिमितता हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले करिव एक महिनाअघि उडान शुरु गरेको बताउँदै उनले अन्य अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्ने बताए ।
उनकाअनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुन नसक्दा नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन सकेको छैन । नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाखसम्म पर्यटकलाई सेवा दिनसक्ने क्षमता बनाइसकेको छन् ।
तर नेपाल आउने पर्यटकको संख्या भने वार्षिक ११ देखि १२ लाखको हाराहारीमा रहेको छ । होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल प्राप्त गर्न पर्यटकको संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।
त्यसका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८३ कात्तिक ११ गते मंगलबार ०३:३४




