पोखरा ।
नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
प्रतियोगिता त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
एनपीएलको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।
एनपीएलका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हिमालय स्पोट्र्स (हिमालय टिभी) ले गर्नेछ ।
आजको उदघाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको खेल अपराह्न साढे चार बजे सुरु गर्ने तालिका छ ।
तेस्रो एनपीएलको सिंगल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते उपाधि भिडन्त हुने छ ।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार एनपीएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिए । यसैगरी उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
अघिल्ला संस्करणको तुलनामा यस वर्ष नगद पुरस्कार रकम बढाइएको छ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर च्याम्पियन बन्दा एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो ।
प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डीआरएस) को प्रयोग हुने ।
अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा डीआरएस प्रविधिको सहायता लिइने छ ।
प्रकाशित मिति २०८३ कात्तिक १० गते सोमबार ११:३८




