पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले नियमित व्यावसायिक उडान सुरु गरेको दुई महिना पूरा भएको छ ।
यस अवधिमा फ्लाई दुबईमार्फत १३ हजार ४ सय ७४ यात्रुले आवतजावत गरेका छन् । उक्त उडानबाट विमानस्थलले झन्डै दुई करोड रुपैयाँ आम्दानी गरेको छ ।
विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार दुई महिनाको अवधिमा फ्लाई दुबईका १ सय २२ वटा एयरक्राफ्ट मुभमेन्ट (उडान तथा अवतरण) भएका छन् ।
यस अवधिमा ८ हजार १ सय १५ जना यात्रु पोखरा आएका छन् भने ५ हजार ३ सय ५९ जना पोखराबाट बाहिरिएका छन् ।
आवतजावत गर्ने यात्रुमध्ये १ हजार ५४ जना विदेशी पोखरा आएका छन् भने ९ सय ९८ जना विदेशी यात्रु पोखराबाट बाहिरिएका छन् ।

अन्तर्राष्ट्रिय उडानले पोखरामा पर्यटक आवागमनसँगै विमानस्थलको व्यावसायिक गतिविधि बढाउन सहयोग पुगेको विमानस्थलको तथ्यांकले देखाउँछ ।
विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिइने सेवा छरितो रहेको बताइन् ।
उनकाअनुसार विमान अवतरण गरेपछि आवश्यक प्रक्रिया पूरा गरी यात्रु आधा घण्टाभित्र विमानस्थलबाट बाहिरिन सक्ने व्यवस्था छ ।
अन्तर्राष्ट्रिय उडानका यात्रुलाई विमानस्थलमा लामो समय कुर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताइन् ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुँदै जाँदा पर्यटन, होटल तथा अन्य पर्यटनसम्बद्ध व्यवसायमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ ।
प्रकाशित मिति २०८३ मंसिर १० गते बुधबार ११:५९





