पोखरा ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले तेस्रो जीत निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको तेस्रो खेलमा आयोजक युनाइटेड किङ्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लबले आफ्नो तेस्रो जीत निकालेको हो ।
पुलिसले किङ्सलाई २५–२१, २५–११, २३–२५ र २५–१७ ले पराजित गर्याे । सो खेलबाट पुलिस क्लबका रेशम छन्त्याल म्यान अफ द म्याचका रुपमा पुरस्कृत भए ।
यो हारसँगै आयोजक किङ्स क्लबले दुई खेल गुमाएको छ भने पुलिस क्लबले यसअघि एउटा खेल गुमाएको छ । प्रतियोगिता संयोजक थमन गुरुङका अनुसार आइतबार पनि लिग चरणका अन्तिम तीन खेल सञ्चालन हुनेछन् ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।
राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रकाशित मिति २०८३ मंसिर १३ गते शनिबार ०४:४६





