पोखरा ।
युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ मा गण्डकी प्रदेशले आयोजकलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको अन्तिम खेलमा गण्डकीले आयोजक किङ्स पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो ।
खेलमा गण्डकीले पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको सेट २५–२०, २५–२१ र २५–२० ले जित्दै खेल आफ्नो पोल्टामा परेको हो ।
शुक्रबार नै भएको पहिलो खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ को सेटमा र दोस्रो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत अब शनिबार लिग चरणका ३ खेल हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।
शनिबार पहिलो खेलमा एपिएफ क्बलसँग त्रिभुवन आर्मी क्लब, दोस्रो खेलमा गण्डकीसँग कोशी र अन्तिम खेलमा आयोजक किङ्ससँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने उनले बताए ।
राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।
उनकाअनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
प्रतियोगिताका सबै खेल पब्लिक फोरके टेलिभिजन र टेलिभिजनका प्रत्यक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।
प्रकाशित मिति २०८३ मंसिर १२ गते शुक्रबार ०४:४०





