मूल्य एउटैको ३० हजारदेखि ४८ हजारसम्म
पोखरा
सोह्र श्राद्ध सकिएकै छैन । जुम्लाका कमानसिंह थामी दसैंको व्यापार गर्न भेडा च्याङ्ग्रा लिएर पोखरा आइसके । तीन दिन तीन रातको ट्रक यात्रामा उनी व्यापार गर्न पोखरा आइपुगेका हुन । उनले ८० वटा च्याङ्ग्रा र केही भेडा ल्याएका छन् । पोखराको याम्दीमा उनले ल्याएको भेडा, च्याङ्ग्रा राखेका छन् ।
गतवर्ष भन्दा यसपालि केही चाँडो आएको थामीले सुनाए । विगतमा फुलपातीको अघिल्लो दिन मात्रै आउने गरेका उनी यसपालि छिट्टै व्यापार सकेर दसैं मनाउन गाउँ फर्कने सुरुमा छन् । ‘घटस्थापनालाई लक्षित गरेर आएको हो । हेरौं व्यापार कस्तो हुन्छ’, उनले भने ।
खरिदका लागि ग्राहक आउने क्रम सुरु भएपनि उतिसारो नबिकेको थामी सुनाउँछन् । ‘मान्छे आउने भाउ बुझेर जाने क्रम जारी छ, व्यापार छैन । सोह्र श्राद्धले नकटेको हुन सक्छ । सोह्र श्राद्ध सकिएपछि लैजान्छन होला’, आशावादी स्वरमा उनले भने ।

दसैंका लागि लक्षित गर्दै हिमाली जिल्लाका व्यापारीले भेडा च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याउने क्रम सुरु भएको छ । शुक्रबारदेखि भेडा च्याङ्ग्रा पोखरा ल्याउन सुरु भएको हो । पहिलो चरणमा बझाङ, दार्चुला, हुम्ला र जुम्लाका व्यापारीले करिब ३ सय भेडा च्याङ्ग्रा पोखरा ल्याइसकेका छन् ।
बझाङका जसवीर बोहोराको समूहले दुई सय बढी भेडा च्याङ्ग्रा लिएर आइपुुगेका छन् । उनको समूहले ३० हजार रुपैयाँदेखि ४८ हजार रुपैयाँ भेडा च्याङ्गाको मूल्य तोकेका छन् । मूल्यअनुसार ग्राहक आफैंले रोजेर भेडा खरिद गर्न पाउने बोहोराले बताए । उनका अनुसार भेडा च्याङ्ग्राको मूल्य गत वर्षको तुलनामा केही बढेको छ । ‘हर सामान महगिंएको छ । त्यसैले भेडा च्याङ्ग्राको मूल्य बढेको छ’, उनले भने ।

किसानसँग मंहगोमा खरिद गर्नुुपर्ने, पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढेको ढुवानी खर्चको कारण मूल्य बढेको उनले जानकारी दिए । ‘गत वर्ष ६५ हजार रुपैयाँ तिरेको ट्रकको भाडा यसपालि एक लाख तिरेका छौँ । उता गाउँतिर हामीले किन्दा पनि महंगो परेको छ’, उनले सुनाए ।
हिमाली क्षेत्रमा जडिबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्रा पोखरेलीको विशेष रोजाइमा पर्छ । तसर्थ दसैंको बेला यहाँ बर्सेनि करोडौं रुपैयाँको व्यापार हुन्छ । मुस्ताङलगायत हिमाली जिल्लाका व्यापारी भेडा च्याङ्ग्रा लिएर पोखराको यात्रामा निस्किएका छन् ।

मुस्ताङबाट हिँडाएर भेडाच्यांग्रा पोखरा ल्याइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, दार्चुला, बझाङबाट भने ट्रकमा ल्याइँदैछ । पहिले महिनौं लगाएर व्यापारीले भेडा च्याङ्ग्रा पोखरा झार्थे । अहिले ट्रकमा हालेर ल्याउने गरिन्छ । ‘हिँडाएर ल्याउदा हरेक वडामा कर तिर्नपर्दा महंगो पर्न गयो । गाडीमा छिटो हुने भो’, बझाङका रामबहादुर बोहोराले भने, ‘गाडीमा ल्याउँदा पनि सजिलो त छैन । चेकिङ हुँदा ट्राफिकलाई दुई चार सय रुपैयाँ बुझाउँदै आउनुपर्छ ।’
घटस्थापनासँगै पोखराको हेमजा, याम्दी, टुँडिखेलमा भेडा। च्याङ्ग्रा किनबेच गर्ने मेला नै लाग्दछ । नवमीको दिनसम्मै भेडा च्याङ्ग्राको व्यापार जारी रहन्छ । गत वर्ष महंगिएपछि भेडा च्याङ्ग्राको व्यापार कम हुँदा व्यापारी दसैंपछि पनि पोखरामै थिए ।


