भोलि उपराष्ट्रपतिले उद्घाटन गर्ने
पोखरा
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको उद्घाटन भोलि शुक्रबार हुँदैछ । खेलको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । यसअघि राष्ट्रपतिले उद्घाटन गर्ने र प्रधानमन्त्री शेरवहादुर देउवाले समापन गर्ने कार्यक्रम तय भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएपछि पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ सालदेखि सुरु भएको हो ।

२०३८ सालमा प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ भदौ २७ देखि असोज ४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा भएको हो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगता २०४० साल चैत १२ देखि २० गते सम्म पोखरामा भएको थियो । ३९ वर्षपछि गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना भएको हो ।
राष्ट्रिय खेलकुद अन्तर्गत असोज २३ गतेदेखि खेलहरु सुरु भएपनि उद्घाटन शुक्रबार पोखरा रंगशालामा गर्न लागिएको हो । उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।
नवौ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल समावेश गरिएको छ । गण्डकीबाट ३८ खेलमा सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने छन् । खेलहरू पाेखरासहित गण्डकी विभिन्र जिल्लामा भएका छन् । तेस्राे राष्ट्रिय खेलकुद २०४२, चौंथो २०५५, पाँचौ २०६५, छैंटौ २०६८, सातौं २०७३, आठौं, २०७६्\७७ मा भएको थियो ।
प्रकाशित मिति २०७९ असोज २७ गते बिहीबार १२:३०




