पोखरा
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्लाराग्लाडिङमा लगाएको प्रतिबन्ध आजदेखि खुला गरेको छ । प्राधिकरणले सर्तसहित प्याराग्लाइडिङ आज शनिबारबाट खुला गर्ने निर्णय गरेको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाडिङ प्रतियोगितामा सहभागी नेपाल आर्मीका खेलाडी निसिम थापाको गत असोज ३० गते दुर्घटनामा परेर निधन भएपछि प्रधिकरणले देशभर प्याराग्लाइडिङ उडानलाई अनिश्चित कालका लागि प्रतिबन्ध लगाएको थियो ।
पोखराको सराङकोटबाट उडेको केही सयममा जमिनमा बजारिँदा निसिम थापाको मृत्यु भएको थियो । प्राधिकरणले पाँच सर्तसहित प्याराग्लाइडिङ सञ्चालनको लागि पत्र दिएको नेपाल हवाइ खेलकुद संस्था नाका अध्यक्ष सुनील भट्टराईले बताए । उनका अनुसार प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडान बाहेक अन्य उडान गतिविधि गर्न नपाइने सर्त राखेको छ ।
आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल–२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ । व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्ने अर्को सर्त राखेको छ । प्राधिरकणले व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर–वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराइ योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने सर्त राखेको छ । वर्षको एक पटक पाइलटको ‘रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एसआइभी’ तथा आपतकालीन अवस्थामा ‘ट्यान्डेम रेस्क्यु’ उपयोग गर्ने प्रयोगात्मक तालिम दिनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ ।
व्यवसायीहरूले प्याराग्लाइडिङ उडानका ५ सर्त पालना गर्नुपर्ने प्राधिरकणले बताएको छ । गत असोज ३० गतेको घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन क्यानले उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको र समितिले छानबिन प्रतिवेदन बुझाएपछि सर्तसहित प्याराग्लाइडिङ उडान खुला गर्ने निर्णय क्यानले गरेको हो । समितिले शुक्रबार प्रतिवदेन बुझाएको थियो ।
‘प्राधिकरणका सर्तहरुलाई कसरी पालना गर्ने बारेमा छलफल गर्न आज हामी बैंठक बस्दैंछौ,’ नाका अध्यक्ष भट्टराईले भने, ‘बैठकपछि मात्र कसरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णयमा पुग्नेछौं ।’ पोखराको सराङकोट, ढिकीडाँडा लगायतका ठाउँमा प्याराग्लाइडिङ उडान हुँदै आएको छ । दुर्घटनामा खेलाडी मृत्युपछि प्रधाकिरणले देशभर नै प्याराग्लाइडिङलाई प्रतिबन्ध लगाएपछि व्यवसायीले विरोध गरेका थिए । सिजनको बेलामा लगाइएको प्रतिबन्धले व्यवसायी मर्काका परेको उनीहरुको गुनासो रहेको थियो ।
प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०८:५०




