२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

प्याराग्लाइडिङको उडान सर्तसहित खुला

प्याराग्लाइडिङको उडान सर्तसहित खुला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ६ गते आइतबार ०२:३७

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ सर्तसहित प्याराग्लाइडिङको उडान भर्न अनुमति दिएको हो ।

पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा दुर्घटना हुँदा एक जनाको ज्यानै गएपछि स्थगित भएको प्याराग्लाइडिङको उडान आइतबारदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ सर्तसहित प्याराग्लाइडिङको उडान भर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक, कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने सर्त राखेको छ ।

त्यस्तै, प्राधिकरणले व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर बर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरलाई मात्र व्यावसायिक उडान अनुमति दिने भएको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्वार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने सर्त राखेको छ ।

असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उनको दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको कात्तिक २ गते संयोजकत्वमा कमिटी गठन गरिएको थियो । उक्त कमिटीले विभिन्न सर्तसहित प्याराग्लाइडिङ खुला गर्न कात्तिक ४ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र सर्त कार्यान्वन गरी आइतबारबाट उडान खुला गरिएको हो ।

प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार ०२:३७
हजुरको प्रतिक्रिया