२०८३ साउन २१ गते बिहीबार

तराईमा छठ पर्वको रौनक, पोखराका ४ ठाउँमा छठ मनाइने

तराईमा छठ पर्वको रौनक, पोखराका ४ ठाउँमा छठ मनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ११ गते शुक्रबार ०८:३३

छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

पाेखरा

तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । विशेष गरी मधेश प्रदेशमा छठ पर्वको चहलपहल सुरु भएको हो । धनुषाको जनकपुरधामसहित मधेसका प्रमुख बजारमा छठको चहलपहल बढेको छ ।

 

पोखरामा पनि यस वर्षको छठ पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । पोखराका मुख्य गरी ४ स्थानमा धुमधामका साथ छठ पूजा मनाउने तयारी गरिएको छठ पूजा व्यवस्थापन समितिका उपाध्यक्ष विनोद गुप्ताले बताए । उनका अनुसार पोखरा नदीपुरको नारायणथान मन्दिर परिसर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर (फेवाताल किनारा), रिठ्ठाघाँट त्रिवेणी धाम (कालीखोला) सेतीनदी किनार र भद्रकाली मन्दिर नजिकैको पोखरीमा पनि छठ पूजा हुनेछ । ती ठाउँहरुमा छठ पूजका लागि तयारी थालिएको गुप्ताले बताए ।

 

उनका अनुसार विगत दुई दशक भन्दा लामो समयदेखि तराईवासी नेपालीले पोखराका विभिन्न ठाउँमा छठ पूजा मनाउन थालेका हुन् । पोखरामा पछिल्ला वर्षहरुमा मधेस तथा पहाडमा बस्नेहरुले पनि छठ पर्व मनाउन थालेका छन् । विशेषत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि छठ मनाइने गरिन्छ । छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिने गरिएको छ ।

 

खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, मुला, अदुवाको बोट पर्छन । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।

 

प्रकाशित मिति २०७९ कात्तिक ११ गते शुक्रबार ०८:३३
हजुरको प्रतिक्रिया