पोखरा
तिहारको विधाईसंगै छठपर्व सुरु भएको छ । छठपर्व विशेष तराईका जिल्लाहरुमा धुमधामका साथ मनाइन्छ । शुक्रबार छठपर्व सुरु भएसँग तराईमा रौनक निकै छ । नदी, तालतलैयाका घाटहरु सजाउन थालिएको छ ।
हिजोआज पहाड उक्लिएका तराइवासी र भारतीय नागरिले जहाँ छन त्यहीँ छठपर्व मनाउछन् । तसर्थ पहाडका जिल्लामा पनि छठको रौनकले छुन्छ आजकाल ।
पर्यटकीय नगरी पोखरमा छठपर्व उक्लिएको दुइ दशक भयो । पेशा, व्यवासाय, रोजगारीका शिलशिलामा आएका तराईवासी र भारतीय नागरिकले दुइ दशक अगाडी पोखरामा छठपर्व मनाउन थालेका थिए । त्यो समय पोखरामा छठ मनाउने निकै कम थिए । रौनक पनि त्यतिसारो हुन्थेन् । ‘दुइ चार जनाको परिवार मिलेर हामीले छठ मनाउथ्यौं । इन्डिया, तराई जान आउन खर्च लाग्ने । विजनेसमा पनि डिस्र्टब हुने भएकाले विस्तारै यहीँ छठ मनाउने मान्छेहरु बढ्दै गए’, छठपर्व पुजा समितिका अध्यक्ष रामआधार गुप्ता सम्झन्छन् । उनका अनुसार अहिले पोखरामै हजारौंको संख्यामा छठ मनाउनेहरु छन् ।
पोखराका चार ठाउँमा सामूहिक रुपमा छठपर्व मनाउने गुप्ताले बताए । नदीपुरस्थित नारायणस्थान मन्दिर, लेकसाइडको केदारेश्वर मन्दिर, भद्रकाली मन्दिरको माछापोखरी र रिठ्ठाघाँट त्रिवेणी धाम (कालीखोला) मा सामूहिक छठपर्व मनाइनेछ ।
पोखरा महानगरपालिकाले एकै ठाउँमा छठपर्व मनाउन यसपालि पहल गरेपनि सम्भव भएन् । ‘अर्को बर्ष एकै ठाउँमा मनाउनेछौं’, उनले भने । पोखराको पर्यटनलाई छठपर्वले टेवा पु¥याउने उनको विश्वास छ । उनले भने, ‘हामीले विदेशसम्म पुग्ने गरेर भव्य तरिकाले मनायौं भने इन्डियाका साथीहरुले पनि एक पटक पोखरा गएर मनाउन भन्न सक्छन् ।’
तराईमा मात्रै सिमित नभएर देश विदेशमा छठपर्व पुगेको कोषाध्यक्ष दिनेशकुमार चौधरीले बताए । ‘सनातन धर्म मान्नेहरुले अमेरिका, क्यानेडा दुवईमा पनि छठ मानेका छन् । यो हाम्रो गौरवको कुरा हो’, उनले भने । पोखरामा छठपर्वलाई महोत्सवका रुपमा मनाउने उनले बताए । सबै धर्मालम्वीलाई पोखरामा हुने छठपुजामा सहभागी गराउने लक्ष्य राखेको चौधारीको भनाई छ ।
छठअन्तर्गत शुक्रबार पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ । आजकै दिनदेखि व्रत प्रारम्भ हुनेछ । शनिबार दिनभर निराहार व्रत बसी राति गुणबाट बनाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप ‘खरना’ खाइन्छ । आइतबार छठको मुख्य दिन हो । अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अन्तिम दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर छठपर्व समापन गरिनेछ ।
प्रकाशित मिति २०७९ कात्तिक ११ गते शुक्रबार ०४:२६




