पाेखराका चार ठाउँमा छठ पूजा गरिँदै
पोखरा
आज छठ पर्वको मुख्य । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । विशेष गरी तराई र मधेशप्रदेश लगायत देशका विभिन्न ठाउँमा यो पर्व मनाउने गरिएको छ । विगत २ दशकदेखि पोखरामा पनि सामूहिक रुपमा छठ पर्व मनाउन थालिएको छ । यो वर्ष पोखराका ४ चार ठाउँमा छठ पूजा गरिँदै छ । पोखराको नारायणथान मन्दिर, केदारेश्वर मन्दिर, कालीखोला किनार र भद्रकाली मन्दिरसँगै रहेको माछा पोखरामा छठको पूजा हुँदैछ ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि रहेहो छठ पूजा व्यवस्थापन समिति पोखराका उपाध्यक्ष विनोद गुप्ताले बताए ।
२०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।
प्रकाशित मिति २०७९ कात्तिक १३ गते आइतबार ०७:२७




