पोखरा
नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले मंसिर ४ गतेको चुनावपछि पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । ‘गठबन्धनले चुनावमा स्पस्ट बहुमत ल्याउँछ,’ उनले भने,‘ गठबन्धनको बहुमत आएपछि सम्भवत कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । ’
प्रेस युनियन कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले मिश्रित निर्वाचन प्रणालीकै कारण गठबन्धन आवश्यक भएको बताए । ‘मिश्रित निर्वाचन प्रणालीले एउटै दलको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘ निर्वाचन प्रणालीकै कारण गठबन्धन बाध्यता नभइ आवश्यकता भएको छ ।’
उनले निर्वाचन प्रणालीलाई परिर्वतन गर्न चुनावपछि छलफल र बहस गर्न सकिने बताए । ‘नेपाली कांग्रेसले निर्वाचन प्रणाली परिर्वतनको मुद्दालाई यो चुनावको अजेन्डा बनाएको छैन,’ उनले भने,‘संविधान संसोधन मार्फत् निर्वाचन प्रणाली परिर्वतन गर्ने बारेमा छलफल र बहस गर्न सकिन्छ ।’
उनले सरकार बनाउन, संविधानको रक्षा र स्थायित्वको लागि लोकतान्त्रिक वामपन्थी गठबन्धन गरिएको बताए । ‘एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गरेर संविधान माथि प्रहार गरेकाले यो गठबन्धन बनेको हो,’ उनले भने,‘गठबन्धनले नै स्थायित्वसहित देशलाई समृद्धितर्फ लैजान्छ । ’
प्रेस युनियन कास्कीका कार्यवाहाक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौला, प्रेस युनियन कास्कीका सचिव प्रदीप पौडेल, सहसचिव ज्योति हमालले बोलेका थिए ।
प्रकाशित मिति २०७९ कात्तिक १६ गते बुधबार ०९:५३




