११ जनाको नाम सिफारिस
पोखरा । पोखरा महानगरपालिकाले गठन गर्न लागेको प्रज्ञा प्रतिष्ठानका लागि छनाेट समितिले आइतबार ११ जनाकाे नाम सिफारिस गरेकाे छ । समितिले महानगरका प्रमुख मानबहादुर जिसी समक्ष ती ११ जनाको नाम सिफारिस हाे ।
समितिले पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), सुरज उपाध्याय र प्रतीक थापा गरी ११ जनाको नाम सिफारिसमा परेको छ। सिफारिस भएका नामहरू मध्येबाट प्रतिष्ठानका संरक्षक नगरप्रमुख मानबहादुर जिसीले ८ जनालाई मात्रै सदस्य चयन गर्नेछन । पोखरा प्रज्ञा प्रतिष्ठानकाे ऐन अनुरूप महानगर प्रमुखले सिफारिस ११ मध्येबाट ८ जना छनाैट गर्नेछन भने २ जना कार्यपालिका सदस्य प्रतिष्ठानको सदस्य बन्ने व्यवस्था छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था भएकाले ११ सदस्यीय प्रतिष्ठान यसरी पूर्ण हुनेछ । महानगरले पहिलाे पटक गठन गर्न लागेकाे पाेखरा प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा पदमराज ढकाल र उपकुलपतिमा मेनकाजी गुरूङकाे पक्कापक्की जस्तै भएकाे स्रोतकाे दावी छ ।
यी दुवै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटअनुहार हुन। जसमध्ये ढकाल गीतसंगित र गुरुङ् नृत्यसंग सम्वन्धित छन । ढकाल नेकपा निकट साँस्कृतिक माेर्चा जनसाँस्कृतिक महासंघकाे केन्द्रीय सदस्य हुन भने गुरूङ पाेखरामा रहेकाे हिमाली साँस्कृतिक परिवारका अध्यक्ष हुन । ढकाल पाेखराकै ग्लाेबल कलेजियट उच्च माविका सञ्चालक समेत हुन । सिफारिस भएका ११ मध्ये सरस्वती श्रेष्ठ सरुले साहित्य र मिलन शेरचनले कलाकाे प्रतिनिधित्व गर्दै प्राज्ञ बन्ने सम्भावना लगभग पक्कापक्की जस्तै छ । मीलन शेरचन जापानी चित्रकला हानानो ओसिनावाकी कलाकार हुन् ।
सिफारिस भएका अन्यमा सारंगी प्रशिक्षक, गायक तथा संकलक धनबहादुर गायक महानगरकै पूर्ब कर्मचारीसमेत हुन । प्रज्ञा प्रतिष्ठानलाइ समावेशी बनाउनु पर्ने भएकाेले महानगरकाे प्राज्ञमा उनकाे पक्कापक्की जस्तै बुझ्न सकिन्छ । लगभग पक्कापक्कीमा पर्ने अर्काे नाम लाेकदाेहाेरी गायक जीवन दाहालकाे हाे । लाेकदाेहाेरी क्षेत्रबाटै सिफारिस ११ मा पर्ने कृष्ण भण्डारी उनीभन्दा कनिष्ठ भएकाे र एउटै क्षेत्रबाट काेही एककाे छनाैट गर्नुपर्दा दाहालकाे नाम अगाडी पर्ने सम्भावना छ । यता, पाेखरेली युवा सांस्कृतिक परिवारकाे अध्यक्ष भएका कारणपनि प्रकास ज्ञवाली अन्तिम ८ मा पर्ने सम्भावना छ । छनाेट समितिले यसअघि प्रज्ञा प्रतिष्ठानकाे विषयमा पाेखरेली युवा सांस्कृतिक परिवारसंग छलफल समेत गरेकाे थियाे । जसमा परिवारले संस्थाकै अध्यक्ष ज्ञवालीलाइ प्राज्ञ बनाउन सुझाएकाे बुझिएकाे छ ।
बाँकी रहेका ४ जनामध्ये ३ जना सिफारिसमा परेर पनि हाललाइ प्राज्ञ बन्ने सम्भावनाबाट वञ्जित हुनेछन । बाँकी नामहरूमा बालसाहित्यमा क्रियाशील सुरज उपाध्याय कवि एवं लेखक हुन् भने प्रतीक थापा संगीतकार हुन् । मोतीबहादुर कार्की (परिवर्तन) ले सामुहिक लगानीमा पाेखरा थियटर चलाइरहेका छन र उनी नाट्यकर्ममा क्रियाशिल छन । कृष्णप्रसाद भण्डारी लाेकदाेहाेरी गायक हुन् ।
पुर्व माओवादीका तर्फबाट काेहि पनि परेनन वा भएनन भन्ने विराेध नहुने गरि मिलाउनुपर्ने अवस्थामा माेतीबहादुर कार्की परिवर्तन वा सुरज उपाध्याय मध्ये काेहि एकजना प्राज्ञ बन्ने सम्भावना छ । यसाे त आगामी नगरसभाबाट प्रतिष्ठानलाइ १३ सदस्यीय बनाउने र सदस्य सचिव समेत सिफारिस नाममध्येबाटै काेहि एक छनाेट गरेर जाने सम्भावनापनि रहेकाे छ ।
पोखरा वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बराल संयोजक, विज्ञसदस्य मनकुमार श्रेष्ठ र महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेल सदस्य रहेको समितिले प्रतिष्ठानका लागि विधागत क्षेत्रमा योगदान पुर्याएका ११ जनाको नाम सिफारिस गर्ने गरि महानगरले गएको साउनमा समिति गठन गरेकाे थियो । साहित्य र कलाका गतिविधि सञ्चालन गर्ने कार्यादेश भएको प्रतिष्ठानका लागि महानगरपालिकाले यो वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०७:४५




