पोखरा । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ । अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनायो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिका पराजित भएसँगै सुपर-१२ समूह-२ बाट पाकिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।
आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । यो खेल पनि एडिलेडमा हुनेछ । पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा वा बराबरी भए पनि सेमिफाइनल पुग्नेछ ।
आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ ।
सुपर-१२ को समूह-१ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ।
प्रकाशित मिति २०७९ कात्तिक २० गते आइतबार ०९:२५