२०८३ साउन २१ गते बिहीबार

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटक बढे

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटक बढे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २० गते आइतबार ०१:३५

पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका...

पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् ।

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन् ।

उनीहरूले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरू पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको बताए । शर्माले रानीमहल मात्रे भनेर घुम्न गए पनि र्‍याफ्टिङ रहेको थाहा पाएपछि र्‍याफ्टिङ चढेको बताइन् । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो ।

रानीमहलको बायाँबाट बग्ने पवित्र कालीगण्डकीमा दैनिक सयौँको संख्यामा स्थानीयदेखि बाह्य पर्यटक र्‍याफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा सुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् ।

गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका, पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिब २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालिएकाे छ । उनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीनवटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताइन् ।

जल यात्रामा रमाउन लाखौँ रुपैयाँ खर्चिएर नेपालीहरू विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै सुरु भएको र्‍याफ्टिङप्रति बाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ । 

प्रकाशित मिति २०७९ कात्तिक २० गते आइतबार ०१:३५
हजुरको प्रतिक्रिया