पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो ।
पत्र भने आइतबार बिहान ११ बजेमात्र पाइएको बताइएको छ । पत्र आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो । यसबारेमा आयोगलाई सरकारले आजै जानकारी गराउने तयारी गरेको छ ।
प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो । प्रदेशका अर्थसचिव भने बिदामा बसेका कारण २७ असोजमा सो निर्णय राजपत्रमा प्रकाशित भएको थियो ।
निर्वाचनको सम्मुखमा आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई आयोगले अलग-अलग स्पष्टीकरण सोधेको थियो ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा ‘नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने उल्लेख छ ।
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ११:२३




