पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि एमालेकै सरकार बन्ने दाबी गरेका छन् । उनले एमालेले ठूलो अन्तरले मत ल्याउने दाबी गर्दै एकल बहुमतको सरकार बन्ने बताएका हुन् । उनले भने, ‘नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि आउँछ । एकल बहुमतको सरकार बनाउँछ । यसको अर्थ अर्कालाई सरकारमा सामेलै गराउँदैन भन्ने होइन, सामेल गरिन्छ । तर, फेरि पनि त्यो एमालेकै सरकार बन्छ ।’
सोमबार कास्कीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले ससंदको गरिमा र मर्यादालाई कुल्चिएको आरोप लगाउदैँ अबको सरकारले त्यसलाई सच्याउने बताए । उनले भने, ‘हामी शक्ति पृथकीकरणको सिद्धान्तमा स्वतन्त्र न्यायालय मान्दछौं । तर, स्वतन्त्र न्यायलयको नाममा असैंवधानिक, अलोकतान्त्रिक ढंगले संसदीय प्रणालीको, संसदको गरिमा त्यसको मर्म, मर्यादालाई कुल्चियो । त्यो गलत हो, यसपटक हामीले सच्याउनुपर्छ ।’
तोकिएको समयभन्दा ३ घण्टा ढिला कार्यकर्ता भेलामा पुगेका ओलीले भित्र र बाहिरका शक्तिहरु लागेर असंवैधानिक कामहरु गरेकोमा दुःख व्यक्त गरे । उनले केही तत्वहरुले देशलाई फेरि अस्थीरतातर्फ धकेलेको आरोप लगाए ।
प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०२:२२




