पोखरा
कात्तिक शुक्ल पूर्णिमाको दिन आज बेलुकी ५ बजेर ११ मिनेटदेखि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांक निर्णायक समितिका अनुसार चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित र ग्रहणले पूरै ढाक्ने भएकाले खग्रास चन्द्रग्रहण भनिएको हो । सूर्यास्त भएपछि स्पष्ट रुपमा देखिने ग्रहण ६ बजेर ३४ मिनेटमा सकिने छ ।
१ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएकाले आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहण सकिएपछि मात्र भोज गर्न हुने समितिले जनाएको छ ।
खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ । यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ ।
धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यता प्राप्त पात्रोमा उल्लेख छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
प्रकाशित मिति २०७९ कात्तिक २२ गते मंगलबार ०८:०७




