डोटी – भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् ।
एक जना बेपत्ता भएका र एक जना बच्चाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । । उनका अनुसार घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । ज्यान गुमाउनेमा प्रेम बोहरा- बर्ष ५०, भगवती बोहरा – बर्ष ४०,सीता बोहरा -बर्ष १३, हर्क बोहरा – बर्ष ८, धन्सरी बोहरा – बर्ष १४, कीतुलछी बोहरा – बर्ष १४ रहेका छन् । घाइते हुनेहरुमा इनरीदेवी बोहरा ४० वर्ष, धौली बोहरा ११ वर्ष, बिस्नादेवी बोहरा ४५ वर्ष, चानादवी बोहरा ४६ वर्ष, महाविर बोहरा ५० वर्ष, केशरसिंह बोहरा ४२ वर्ष, जागुदेवी बोहरा ३६ वर्ष रहेको डोटीको पत्रकार सरस्वती साउदले जानकारी दिइन् ।

भूकम्पले ८ वटा घर भत्किएका छन् । भूकम्पले थप क्षति गरेको हुन सक्ने आशंका छ । क्षतिको विवरण संकलनको काम भइरहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
तस्बिर सौजन्य : सरस्वती साउद
प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०७:१५




