२०८३ साउन २१ गते बिहीबार

आचारसंहिता विपरीत दलहरुको चुनावी प्रचार, कारबाही गर्ने आयोगको चेतावनी

आचारसंहिता विपरीत दलहरुको चुनावी प्रचार, कारबाही गर्ने आयोगको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २३ गते बुधबार १०:५८

दोस्रो पटक पनि आचारसंहिता विपरीतका कार्यहरु दोहोरिएमा प्रचार प्रसारमा प्रयोग भएका सामग्री जफत गरी निर्वाचन ऐन २०७३ अनुसार कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

पोखरा

देशमा संघीय शासन लागू भएपछि दोस्रो पटक हुन लागेको संसदीय निर्वाचन आउन अब मात्र ११ दिन बाँकी छ । आगामी मंसिर ४ गते हुने चुनावको लागि राजनीतिक दल तथा उम्मेदवारहरु प्रचारमा व्यस्त छन् । चुनावी प्रचार गर्दा आचारसंहितालाई पालना गर्न निर्वाचन आयोगले पटकपटक आग्रह गर्दा पनि राजनीतिक दलहरुले त्यसलाई वेवास्ता गर्ने गरेका छन् । कास्कीमा संघका तीन क्षेत्र र प्रदेशका ६ वटै निर्वाचन क्षेत्रमा पनि राजनीतिक दल तथा उम्मेदवाहरुले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको पाइएको छ । गत असोज १२ गते देखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ ।

 

कात्तिक २२ गते जिल्ला आचारसंहिता अनुगमन समिति कास्कीले तीन वटै क्षेत्रमा गरेको अनुगमनमा राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरीत प्रचार गरेको पाइएको हो । निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी हुमनाथ पराजुलीका अनुसार दल तथा उम्मेदवारहरुले प्रचारमा प्रयोग गरेको सवारी सधानको अनुमति नलिई प्रयोग गरेको, सवारी साधनमा ब्यानर, फ्लेक्स बोर्ड, लोगो, निर्वाचन चिह्नको स्टिकर तथा साउन्ड सिष्टम प्रयोग गरेको पाइएको छ ।

 

प्रचारको लागि सवारी साधन प्रयोग गर्दा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने नियम बनाइएको भएपनि अधिकांश दल र उम्मेदवारले त्यसो गरेका छैनन् । बिजुलीका पोल तथा सार्वजनिक स्थानहरुमा निर्वाचन चिह्न अंकित फ्लेक्स बोर्डहरु राखेको पाइएकोले सम्बन्धित दल र उम्मेदवारलाई सचेत गराइ सामग्री हटाउन लगाइएको पराजुलीले बताए ।

 

दोस्रो पटक पनि आचारसंहिता विपरीतका कार्यहरु दोहोरिएमा प्रचार प्रसारमा प्रयोग भएका सामग्री जफत गरी निर्वाचन ऐन २०७३ अनुसार कारबाही गर्ने चेतावनी निर्वाचन आयोगले दिएको छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार १०:५८
हजुरको प्रतिक्रिया