२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकीकै चासो कास्की १ (क): राजनीतिक जीवनकै परीक्षामा खगराज, अर्को मोडमा दीपक

गण्डकीकै चासो कास्की १ (क): राजनीतिक जीवनकै परीक्षामा खगराज, अर्को मोडमा दीपक

अमृत सुवेदी

@facebook

२०७९ कात्तिक २३ गते बुधबार ०६:५७

खगराजका निम्ति सम्भवत यो अन्तिम निर्वाचन हुने अनुमान गरिएको छ भने दीपकका निम्ति यो चुनावले भविष्य निर्धारण गर्ने छ । त्यसैले पनि यो क्षेत्रमा कसले जित्छ यसै भन्न सक्ने अवस्था छैन । तर, के चाहिँ स्पष्ट छ भने, ‘जसले जिते पनि राजनीतिक जीवन र प्रतिष्ठामा नयाँ मोड आउने छ ।’

पोखरा

संसदीय राजनीतिमा कहिले हार, कहिले जीत बेहोरे खगराज अधिकारीले । ०४८ सालदेखि यी दुबै अनुभवलाई संगालेर राजनीतिक जीवनकै एउटा परीक्षामा संघबाट प्रदेश सभा निर्वाचन झरेका छन्, उनी । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने अभिलासासहित नेकपा एमालेबाट छेठौं पटक जनताका बीचमा गइरहेका खगराज नेकपा हुँदाका पूर्व सहयोद्धा माओवादीका दीपक कोइरालासँग प्रतिस्पर्धा गर्दैछन् ।

खगराजका लागि यो राजनीतिक जीवनकै प्रतिस्ठासँग जोडिएको प्रतिस्पर्धा हो । त्यसैले पनि अहिलेसम्मको अनुभव र साम, दाम प्रयोग गरेर भए पनि जित्नै पर्ने दबाबमा छन् अधिकारी । पहिलो पटक प्रदेश सभा छिरेर संसदीय समितिमा पूरै कार्यकाल सभापति रहेका माओवादी नेता कोइराला फेरि संसद छिरेर इतिहास रच्ने दाउमा छन्, त्यो पनि एमालेका हेभिवेट मानिएका खगराजलाई हराएर ।

खगराजलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीका दाबेदारका रुपमा पनि हेरिएकाले यो चुनाव एमालेका निम्ति निकै महत्वपूर्ण छ भने गठबन्धनका निम्ति पनि उत्तिकै चासो र प्रतिष्ठासँग जोडिएको छ । यो चुनावबाट जीत निकाल्न सके दीपकको राजनीतिक जीवन नै अर्को मोडमा प्रवेश गर्ने भएकाले पनि उनी निकै कसरतमा छन् ।
त्यसैले पनि संगठन विभाग प्रमुखसमेत रहेका एमाले स्थायी कमिटी सदस्य खगराज र माओवादी केन्द्रीय सदस्य दीपक बीचको प्रतिस्पर्धाले गण्डकी प्रदेशमात्रै होइन, देशकै ध्यान खिचेको छ । एमालेका खरो नेताको परिचय बनाएका र केपी ओलीको विश्वास पात्र रहेका खगराजलाई आफ्नो क्षेत्रमा राजनीतिक दबदबा कायम गर्न पनि निकै अर्थपूर्ण रहेको एमालेकै नेताहरु बताउँछन् ।
…
टिकट हात नपर्दासम्म पत्रकार तथा नेता कार्यकर्तासँगको भेटमा खगराज भन्थे, ‘म संघीय स्वास्थ्य र गृहमन्त्रीसमेत भइसकेको मान्छे हुँ, मेरो चाहाना यसपटक पनि संघमै हो ।’ तर, उनी जापान भ्रमणमा हुँदा संघ र प्रदेश दुबैतिर कास्की क्षेत्र नम्बर १ बाट सिफारिस भएका थिए ।

एमाले उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा रोजे भने आफू संघमै चुनाव लड्ने बताइरहेका थिए । तर, गण्डकीको मुख्यमन्त्री बन्ने एजेण्डालाई अगाडि सार्दै प्रदेशमा चुनाव लड्ने शीर्ष नेताको ग्रिन सिंग्नल पाइसकेपछि खगराजले संघमै उठ्ने कुटनीतिक भाषा प्रयोग गरेको एमालेकै नेताहरु बताउँछन् ।
पृथ्वीसुब्बाले फेरि मुख्यमन्त्री बन्ने सपनासहित संघमा चुनाव नउठ्ने बताइरहेका थिए । तर, एमाले महासचिव शंकर पोखरेल खगराजलाई प्रदेशमै उठाउन चाहान्थे भने एमाले अध्यक्ष केपी ओली पनि यसमा सहमत थिए । अन्ततः पृथ्वीसुब्बाले चाहेर पनि प्रदेशमा टिकट नपाउँदा खगराजले कास्की क्षेत्र नम्बर १ को (क)मा टिकटमात्रै हात पारेनन्, एमालेभित्रको गुटबन्दीलाई मिलाउने अभिप्रायले कुटनीति भाषासमेत प्रयोग गरेका थिए ।

गण्डकी प्रदेशभित्र र त्यसमा पनि कास्की जिल्लामा एमाले उपमहासचिव पृथ्वीसुब्बा र खगराजका बीचमा प्रतिस्पर्धाको लडाईं देखिँदै आएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री भएदेखि नै प्रतिस्ठाको रस्साकस्सी सुरु भएको नेताहरु बताउँछन् ।

गत स्थानीय तहको निर्वाचनमा त एमालेभित्र पृथ्वीसुब्बा र खगराजबीचको लडाईं सतहमै देखिएको थियो । त्यसैले पनि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशको टिकट पक्का भएपछि खगराजले पृथ्वीसुब्बासँग सधैं मित्रवत सम्बन्ध रहेकोमात्र बताएनन्, उनको प्रशंसामा थुप्रै समयसमेत खर्चिएका थिए ।

एमालेभित्रको गुटलाई मिलाउँदै मुख्यमन्त्री बनेर आफ्नो बिरासत जोगाउन र राजनीतिक उचाईं थप्न खगराज यतिबेला कम्मर कसेर लागेका छन् । र, खगराजका निम्ति पहिलो चुनौति भनेकै एमालेभित्रको गुटबन्दी मिलाउनका लागि हुने एक एमाले नेताले बताए ।

अघिल्लो चुनावमा जसलाई भोट मागे, उनै प्रतिस्पर्धी

अघिल्लो चुनावमा वाम गठबन्धन बनाएर एकअर्काको सहयोगी भएको चुनावी मैदानमा गएका एमाले–माओवादी यसपटक देशका धेरै ठाउँमा आमने–सामने छन् । प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा चुनाव उठेका खगराजका लागि त्यो भूगोल चिरपरिचित थियो । तर, माओवादीका पूर्व ब्रिगेट कमाण्डर दीपक कोइरालाका निम्ति संसदीय निर्वाचन नै पहिलो अनुभव थियो ।

२०३५ सालमा दीपक कोइराला जन्मिँदा २०१८ सालमा जन्मेका खगराजको राजनीति भने सुरु भइसकेको थियो । खगराज २०३३ सालमा त पुष्पलाल समूहको एरिया कमिटी सदस्य भइसकेका थिए । पाँचौ पटक चुनावी मैदानमा होमिएका अनुभवी खगराजले अघिल्लो चुनावमा दीपकका निम्ति भोट माग्दै हिँडेका थिए ।

अघिल्लो निर्वाचनमा जसलाई भोट माग्दै जनताको घरदैलोमा पुगेका थिए, अहिले उनै खगराजको प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा आफू संघमा उठेर प्रदेशमा वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपक कोइरालालाई भोट मागेका खगराजले कल्पना पनि नगरेको विषय थियो, अर्को निर्वाचनमा उनैसँग प्रतिस्पर्धा गर्नुपर्ला ।
त्यो बेला खगराजले चुनावी अभियानका क्रममा रुपा गाउँपालिकामा भएको सभामा भनेका थिए, ‘दीपक कोइरालाकोजस्तो जोश र ऊर्जा, मेरो वर्षौंदेखिको अनुभव मिलायो भने यो क्षेत्रले कस्तो फड्को मार्ला ? त्यसैले दीपक कोइरालालाई जसरी पनि मत दिनुहोला ।’ आफैंलाई भोट हाल्न नपाउने गरी अर्को क्षेत्रमा चुनाव उठेको दीपकलाई आरोप लाग्दा खगराजले त्यहाँका मतदातालाई कोइराला कास्की–१ कै भएको बताउँदै हिँडेका थिए ।

अहिले तिनै दीपक ५ दलीय गठबन्धनबाट खगराजकै विपक्षमा उभिएका छन् । २०४८ साल यताका अनुभव र अहिलेसम्मको राजनीतिक जीवनलाई प्रयोग गरेर खगराज जसरी पनि आफ्नो प्रतिष्ठा जोगाउन चाहान्छन् । एमालेजनहरु नै भन्छन्, ‘खगराज यतिबेला राजनीतिक जीवनकै प्रतिष्ठा बचाउनैपर्ने चुनौतिपूर्ण मोडमा छन् ।’
स्थानीय तहमा गठबन्धनका दलहरुले प्राप्त मत हेर्दा एमाले १ हजारभन्दा बढी मतले पछाडि छ । तर, चुनावपछि गठबन्धन नटिक्ने र एमाले नेतृत्वमा सरकार बन्ने भएकाले खगराज मुख्यमन्त्री बन्ने एजेण्डा कास्की क्षेत्र नम्बर १ को ‘क’ मा एमालेजनले बनाएका छन् । मुख्यमन्त्री बन्ने एजेण्डासहित पाका नेतालाई जिताएर बिरासतलाई अझै माथि उठाउने उद्घोष गर्दै एमाले चुनावी अभियानमा छ ।

खगराज र दीपकको बलिया र कमजोर पक्ष

२०५१ को उपनिर्वाचन र २०७४ सालको आम निर्वाचनमा चुनाव जितेका खगराजले २०४८, २०५६ र २०६४ मा हार व्यहोरे । सांसद नभएरै सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका खगराज नेकपा विवादको चरम उत्कष्टमा केपी ओली नेतृत्वको सरकारमा २०७८ साल जेठमा १३ दिने गृहमन्त्री बने ।

सबै नागरिकको स्वास्थ्य विमा गर्ने कार्यक्रम ल्याएका खगराज स्वास्थ्यमन्त्री हुँदा चर्चामा रहे । खगराजको राजनीतिक जीवनको सबैभन्दा बलियो पक्ष भनेको निश्कलंिकत रहनु हो । खरो र जुझारु स्वभावका ओलीका हार्डलाइनर खगराज आर्थिक लेकदेन र कुनै भ्रस्टाचारका घटनामा जोडिएनन् । जसका कारण उनको क्षेत्रमा मान्छे ‘रुखो’ भए पनि बिगार्ने काम चाहिँ गर्दैनन् भन्नेहरु भेटिन्छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य र पोखराको पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको स्ववियु सभापति हुँदै राजनीतिक सिंढी उक्लिँदै गएका खगराज २०६५ सालमा नेकपा एमालेको केन्द्रीय सदस्य चुनिएका थिए । दशौं महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख छन् ।

कास्कीको एमाले राजनीतिमा लामो समयदेखि रजगज गर्दै आएका खगराजलाई सबैभन्दा बढी लाग्ने आरोप हो, ‘तुच्छ भाषण गर्छन् र मन नपरेका व्यक्तिलाई भित्तामै पु¥याउन लाग्छन्, आफूभन्दा माथि उठ्नै दिँदैनन् ।’ अहिले पनि खगराजलाई आफ्नै पार्टीभित्रबाट अन्तर्घात हुन सक्ने चर्चा एमालेभित्रै छ । खगराजका कारण माथि उठ्न नपाएका नेता र पृथ्वीसुब्बा गुरुङ समूहकाबाट समेत उनलाई असहयोग हुन सक्ने अनुमान छ । तर, प्रतिनिधि सभामा पृथ्वीसुब्बा समूहका भनिएका मनबहादुर गुरुङ र अर्को प्रदेश सभामा खगराज समूहकै वेदबहादुर गुरुङ श्याम उम्मेदवार हुँदा सन्तुलन भएको एमालेजनको भनाइ छ । कास्की–१ मा अहिले एमालेको कुनै गुट नभएको दाबी खगराजको छ ।

गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतअनुसार एमालेभन्दा गठबन्धन अगाडि देखिए पनि कांग्रेस समर्थन कार्यकर्ताले माओवादीका उम्मेदवारलाई मत नदिने र त्यो मतसमेत काट्न सक्ने एमाले नेताहरु बताउँछन् ।

गठबन्धनका उम्मेदवार ४४ वर्षीय दीपकको राजनीतिक उदयलाई नै एक हिसाबले एउटा छलाङका रुपमा पनि व्याख्या गर्नेहरु कास्कीमा छन् । माओवादी कास्कीको राजनीतिमा कोइरालाले आफ्नो दबदबा देखाएका छन् भने संसदीय राजनीतिमा पनि आफूलाई अब्बल साबित गराएको नेताहरु बताउँछन् । वाम गठबन्धनबाट चुनाव जितेर पार्टी फुट्दा पनि त्यो क्षेत्रमा एमालेहरुलाई पनि मन कुँडाउने काम नगर्नुको फाइदा अहिलेको चुनावमा दीपकलाई हुन सक्ने एमालेहरु नै बताउँछन् ।

नेकपाबाट सांसद जितेर कोइराला अर्थ तथा विकास समिति सभापति बने । उनीमात्र समितिका यस्ता सभापति हुन्, जसले सरकार फेरिए पनि पूरै कार्यकाल चलाउन पाए । अरु ३ समितिका सभापति सरकार फेरिसँगै फेरिएका थिए । समितिका तर्फबाट सरकारलाई निर्देशन दिने र संसदका छलफलहरुमा भाग लिने, प्रश्न उठाउने सांसदका रुपमा पनि कोइरालाले आफूलाई उभ्याएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता जनादर्न शर्मासँग नजिक रहेका कोइरालाले थुप्रै आकांक्षी र रस्साकस्सीका बीच टिकट हात पारेका थिए । कास्की प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा संविधान सभा सदस्य तथा केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ले दाबी गरेका थिए । करणले टिकट पाएको खण्डमा कोइराला टिकटबाट बञ्चित हुने अवस्था सिर्जना हुने अवस्था थियो । तर, कास्की–३ माओवादीले पाएपछि कास्की १ (क) मा फेरि दीपकले नै टिकट पाएका हुन् । एउटै व्यक्तिले टिकट पाएको भन्दै माओवादीभित्र केही स्वरहरु सुनिएकाले कोइरालालाई पनि अन्तर्घात हुन सक्ने नेताहरु बताउँछन् ।

कांग्रेसको मतलाई धेरैभन्दा धेरै आफ्नो पक्षमा पार्ने र एमालेको असन्तुष्ट मतसमेत तानेर जित्ने दाउमा कोइराला छन् । कांग्रेसले इमान्दारीपूर्वक मत हाल्ने र एमालेका कार्यकर्तालेसमेत आफूलाई सहयोग गरेर चुनाव जित्ने दाबी दीपकको छ । एमालेलाई जिताउनुभन्दा दीपकलाई नै जिताउँदा अर्को चुनावमा आफूहरुको सम्भावना सुरक्षित रहने कांग्रेसका एक नेताले बताए । ‘एमालेबाट खगराजले जिते भने अर्को १० वर्षसम्म त्यो क्षेत्रमा कांग्रेसलाई गाह्रो हुन सक्छ । त्यसैमाथि खगराज मुख्यमन्त्री बने भने त झनै कमजोर हुन सक्ने भएकाले यसपटक कांग्रेसले कोइरालालाई नै मत हाल्छ,’ ती नेताले भने ।

कोइरालामाथि कास्की–१ प्रतिनिधि सभामा कांग्रेस कास्की सभापति किशोरदत्त बरालले टिकट पाएका छन् । गठबन्धनका नेताहरुसहित कोइराला जनताको घरदैलोमा छन् भने खगराज फेरि एक जनतालाई विश्वास दिलाउन एमालेबाट मतदाताको आँगनमा पुगेका छन् ।

गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपकका निम्ति खगराज प्रतिस्पर्धी हुनु नै एउटा चुनौति बनेको नेताहरु बताउँछन् । दीपकका निम्ति त्यो क्षेत्रमा माओवादीको ठूलो संगठन नहुनु अर्को चुनौति छ । कांग्रेसका मतदाताहरुले हँसियाहथौडामा भोट हाल्दैनन् कि भन्ने अर्को डर पनि छ भने माओवादीभित्रैका केही नेताले असहयोग गर्न सक्ने अनुमानहरु पनि निर्वाचन क्षेत्रमा सुनिन्छन् ।

कास्की क्षेत्र नम्बर १ (क) मा रुपा गाउँपालिका र पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडा पर्छन् । रुपा गाउँपालिका एमालेको उर्वर क्षेत्र मानिन्छ । जहाँ ७ वडामध्ये १ वटामात्रै कांग्रेसले जितेको छ । सो क्षेत्रमा पर्ने पोखरा महानगरका वडामध्ये २९ बाहेक सबैमा कांग्रेसले जितेको छ । गएका निर्वाचनमा माओवादीले गठबन्धनका कारण उम्मेदवार नहुँदा आफ्नो मत परीक्षण गर्नसमेत पाएको थिएन ।

महानगरका वडाबाट बराबरीजसो मत पाए पनि रुपा गाउँपालिकाकै मत जित्नका लागि काफी हुने खगराज समूहको दाबी छ । तर, त्योभन्दा ठूलो मतान्तरमा महानगरका वडामा दीपकले प्राप्त गर्ने र रुप गाउँपालिकामा पनि स्थानीय तहमा प्राप्त गरेजस्तो मत प्रदेश सभामा नआउने दाबी गठबन्धनको छ ।

खगराजलाई गण्डकीको भावी मुख्यमन्त्रीका रुपमा हेरिँदा दीपकले पनि गठबन्धनबाट माओवादीको भागमा पर्दा मुख्यमन्त्रीको दाबेदार भएको बताइरहेका छन् । खगराजका निम्ति सम्भवत यो अन्तिम निर्वाचन हुने अनुमान गरिएको छ भने दीपकका निम्ति यो चुनावले भविष्य निर्धारण गर्ने छ । त्यसैले पनि यो क्षेत्रमा कसले जित्छ यसै भन्न सक्ने अवस्था छैन । तर, के चाहिँ स्पष्ट छ भने, ‘जसले जिते पनि राजनीतिक जीवन र प्रतिष्ठामा नयाँ मोड आउने छ ।’

प्रकाशित मिति २०७९ कात्तिक २३ गते बुधबार ०६:५७
हजुरको प्रतिक्रिया