काठमाडौं । कात्तिक ३० गते दशरथ रङ्गशालामा पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा भएको छ।
टोलीमा नियमित कप्तान किरणकुमार चेम्जोङ भने छैनन् । तीन गोलरक्षक, ७ जना रक्षक, ६ जना मिडफिल्डर र ७ जना स्ट्राइकर समेटेर २३ सदस्यीय टोली घोषणा गरिएको छ।
गोलरक्षकमा विशाल श्रेष्ठ, दीप कार्की र विकेश कुथु तथा रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकाश तामाङ, दिनेश राजवंशी, विकाश खवास, गौतम श्रेष्ठ र निशान खड्का छन्।
यस्तै मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट र आवास लामिछाने छन् भने स्ट्राइकरमा अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुस घलान, सुनिल बल, रितिक खड्का र सुजल श्रेष्ठ छन्।
यसअघि बंगलादेशविरुद्ध एक महिनाअघि भएको मैत्रीपूर्ण खेलमा नवयुगलाई राखिएको थिएन। त्यसपछि उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।
प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०४:३९