२०८३ असोज २३ गते शुक्रबार

रामचन्द्रकाे हिसाबकिताबः जोशीकै कारण यसपाली चुनाव जित्छु

रामचन्द्रकाे हिसाबकिताबः जोशीकै कारण यसपाली चुनाव जित्छु

अमृत सुवेदी

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०७:३३

अघिल्लो चुनावमा जोशीकै कारण हारेको र यसपटकको चुनाव पनि जोशीकै कराण जित्ने रणनीति पौडेलको छ ।

पाेखरा
संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेल जिन्दगीमा एक पटक प्रधानमन्त्री बन्न लालायित छन् । अन्तिम पटक चुनावी लडेर एक पटक प्रधानमन्त्री हुन्छु भनेर रामचन्द्र चुनावी अभियानमा दौडिरहेका छन् ।

तनहुँमा कांग्रेस नेता पौडेल र गोविन्दराज जोशी ‘जानी दुश्मन’ हुन् । अघिल्लो चुनावमा उम्मेदवार भएर पनि पौडेल समूहकै उजुरी परेपछि जोशीको उम्मेदवारी खारेजी भएको । भ्रस्टाचार मुद्धा खेपिरहेका जोशीलाई रामचन्द्रकै कारण आफ्नो राजनीतिक जीवन सकिएको र अगाडि बढ्न नदिएको लागेको छ ।

रामचन्द्रका कारण आफ्नो उम्मेदवारी खारेप भएपछि जोशी समूहको सहयोगकै कारण किसान श्रेष्ठले जितेका थिए । दमौलीमा अघिल्लो चुनावताका जोशीले भोट मागेको किस्साको अहिले पनि चर्चा हुने गरेको छ ।

उम्मेदवारी खारेजीपछि जोशीले मत मागेका थिए ‘म कांग्रेस हुँ तर यसपटक चुनाव चिन्ह सूर्य हुने छ ।’ अघिल्लो चुनावपछि अन्तर्घात गरेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । त्यो कारबाही फुकुवासमेत नभएपछि जोशी यसपटक रामचन्द्रसँगै बदला लिन चुनावी मैदानमा छन् । पौडेलसँगको प्रतिस्पर्धामा एमालेका एकबहादुर गुरुङ छन् ।

अघिल्लो चुनावमा जोशीकै कारण हारेको र यसपटकको चुनाव पनि जोशीकै कराण जित्ने रणनीति पौडेलको छ । अघिल्लो चुनावमा आफूले गरेको गल्ती यसपटक नदोहो¥याउने बताउँदै आएका पौडेलले जोशीकै कारण आफ्नो जीत सहज हुने हिसाब किताब सुनाए ।

जोशीको उम्मेदवारी कायमै रहँदा त्यो समूहको मत एमालेलाई जाँदैनथ्यो र पौडेलले चुनाव जित्न सक्थे । तर, उम्मेदवारी खारेजीपछि आफूबिरुद्ध ‘इन्टी मुभेन्ट’ नै चलेको पौडेलको विश्लेष्ण छ ।

‘अघिल्लो निर्वाचनमा जोशीको उम्मेदवारी कायम हुन दिनुपर्ने रहेछ । तर, उजुरी परेपछि खारेजी भयो । उनको समूहको भनिएको मत ख्यात्तै किसान श्रेष्ठलाई गयो,’ पौडेलले भने, ‘अहिले पनि मेरा विरुद्ध षडयन्त्र भइरहेको छ तर यसपाली जनताले तपाईंले जितेर देशको नेतृत्व गर्नुपर्छ भनिरहेका छन् ।’

१७ पटकसम्मको दौडमा पनि असफल भएपछि रामचन्द्रलाई एक पटक देशको प्रधानमन्त्री हुने ठूलो धोको छ । ‘जनताले मलाई देशकै नेतृत्वमा एक पटक पु¥याउन खोजिरहेका छन् । म कार्यकारी पदमा रहेर काम गर्न पनि चाहान्छु,’ पौडेल भन्छन् ।

पौडेलको जीतका लागि यसपटक पनि गोविन्दराज जोशीको समूहको अवरोध हुने तनहुँका कांग्रेसी कार्यकर्ता बताउँछन् । पौडेलले भने जोशी समूहको उम्मेदवारी कायमै रहँदा आफूलाई जीतका लागि सहज हुने दाबी गर्छन् ।

एकतिर ५ दलीय गठबन्धन छ भने अर्कोतिर एमाले फुटेर कमजोर पनि भएकाले यसपटक आफूले जित्ने उनको दाबी छ । ‘अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेको थियो । तर, अहिले कांग्रेस, माओवादी, एकीकृत समाजवादीको गठबन्धन छ,’ तनहुँको विश्लेषण गर्दै तनहुँका सचिव लक्ष्मीभक्त खनालले भने, ‘तनहुँ–१ माओवादीको समेत राम्रो जनमतद छ । आँबुखैरेनी गाउँपालिकामा माओवादीले जितेको छ । बन्दीपुर र भानु नगरपालिका पनि माओवादीको जनाधार छ ।’

जति मत जोशी समूहले कांग्रेसको लैजान्छ, त्योभन्दा ठूलो मत यसपटक माओवादीबाट पौडेललाई आउने भएकाले जीत सहज भएको खनालको दाबी छ । तनहुँ–१ बाट १० हजार मत माओवादीबाट कांग्रेसमा आउने र कांग्रेसको मत जोशीले काटे पनि पौडेलले जित्ने खनालले बताए । ‘जोशीको उम्मेदवारी रहनु नै पौडेलले जित्नु हो भनेर जो कोहीले पनि भनिरहेका छन्,’ खनालले भने ।

स्थानीय निर्र्वाचन अगावै रामचन्द्र पौडेललाई पराजित गर्ने चेतावनी दिँदै जनताको घरदैलोमा पुगेका जोशीको उम्मेदवारी पौडेलका निम्ति चुनौति हो । सातौं चुनाव जितेर प्रधानमन्त्री बन्ने सपना देखेका पौडेलको निद हराम जोशीकै उम्मेदवारीले भएको छ ।

जोशी गृह मन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ । जोशीको समूहमा नखुलेका कांग्रेसमा रहिरहेकाहरुको पनि भोट काट्न आँकलन गरिन्छ ।

गएको स्थानीय निर्वाचनमा जोशीपुत्र दीपकराज जोशीले नेकपा एमालेसँग तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा लडेका थिए । नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले जोशी पराजित भए । न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८२६ मत पाए । एमालेबाट उपमेयरको उम्मेद्वार बनेकी बसुन्धारा घर्तीले भन्दा जोशीले एक हजार ७८४ मत बढी पाए । भानु नगरपालिकामा पनि जोशी समुहको प्र्रभाव राम्रो छ ।

पौडेल पक्षका विश्व बास्तोला पनि कांग्र्रेस बाहिर छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव रहेका उनले पौडेल विरुद्ध उम्मेद्वारी दिएर फिर्ता पनि लिइसके ।

एमाले छाडेर एकीकृत समाजवादीमा लागेका श्रेष्ठ अन्तिम पटक चुनाव जितेर मर्ने चाहना व्यक्त गरेका पौडेललाई ठाउँ खालि गराउँदै बारा ४ मा पुगेका छन् ।

श्रेष्ठको साथ त मिलेको छ नै गठबन्धनको मतभारले पनि उत्साह थपेको छ पौडेललाई । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेदवारले वडामा पाएको मतपरिणाम हेर्दा पौडेल झन्डै दोब्बरले अगाडि छन् ।

 

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०७:३३
हजुरको प्रतिक्रिया