पाेखरा । आईपीएल क्रिकेटअन्तर्गत मंगलबार अबुधाबीमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेकाे छ । जितसँगै मुम्बई फेरि एकपटक अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९३ रन बनायाे । मुम्बईका लागि ओपनर क्विन्टन डिककले २३ तथा कप्तान राेहित शर्माले ३५ रन बनाएर मध्यम शुरूवात गरेपनि मध्यक्रममा सुर्यकुमार यादबले शानदार ७९ रनकाे नट आउट पारी खेलेपछि मुम्बईले राजस्थानसामु ठुलाे चुनाैती पेश गर्न सफल रह्याे । मुम्बईका लागि हार्दिक पाण्ड्याले ३० तथा कुनाल पाण्ड्याले १२ रन जाेडे । मुम्बईले १४ अतिरिक्त रन पायाे ।
राजस्थानका लागि श्रेयस गाेपालले २ तथा जाेफ्रा आर्चर र कार्तिक त्यागीले समान एक/एक विकेट हात पारे ।
१९४ रनकाे जवाफी ब्याटिङमा मैदान उत्रेकाे राजस्थानका लागि मात्र ४ ब्याट्सम्यानले दाेहाेराे अंक जाेडे । यशस्वी जैसवाल र संजु सामसनलाइ शुन्यमा गुमाएकाे राजस्थानका लागि जाेस बटलरले सर्वाधिक ७० रन बनाए । टम कुरानले १५, महिपाल लाेमररले ११ तथा जाेफ्रा आर्चरले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान सिंगल डिजिटमा पवेलियन फर्कदा १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमा अलआउट भयो र ५७ रनकाे हार ब्यहाेर्याे ।
मुम्बईका लागि जसप्रित बुमराह, ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सको बलिङ उत्कृष्ट रह्ये । बुमराहले २० रन खर्चेर ४ विकेट लिए भने बोल्टले २६ रन खर्चेर २ विकेट लिए । यसैगरी जेम्स प्याटिन्सनले पनि २ विकेट लिँदा १९ रन दिए ।
युएईमा जारी आईपीएलको १३ औं संस्करणमा मुम्बईको यो चौथो जित र राजस्थानको तेस्रो हार हो । ६ खेल खेलेकाे मुम्बई दुइ हार र चार जितका साथ अंक तालिकाकाे शिर्षस्थानमा फेरि एकपटक उक्लिँदा एक खेल कम खेलेकाे दिल्ली समान जितका साथ नेट रनरेटका आधारमा अंकतालिकाकाे दाेस्राे स्थानमा छ । अंकतालिकाकाे तेस्राे स्थान बैगलाेरले सुरक्षित गरेकाे छ भने त्यसपछि क्रमस केकेआर, सिएसके, एसएरएच,आरआर र अंकतालिकाकाे पुछारमा पन्जाब रहेका छन ।
प्रकाशित मिति २०७७ असोज २१ गते बुधबार ०७:३०




