पाेखरा
देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यासका १२ वटा वडा तनहुँ क्षेत्र नम्बर १ मा पर्छ । यो क्षेत्रको ४२ वडामा गत स्थानीय निर्वाचनमा एमालेभन्दा कांग्रेस एक्लै पनि १२ हजार बढी मतले अगाडि छ ।
एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ८७९ मत पाएका थिए । कांग्रेसले ३३ हजार १०६ मत प्राप्त गर्दा गठबन्धनमा आबद्ध दल नेकपा माओवादीले ८ हजार १२४ र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो । यी तीन दलले पाएको मत ४३ हजार ७५२ छ । वडामा गठबन्धन र एमालेबीचको मतान्तर झन्डै २३ हजार बढी छ । राप्रपाका उम्मेद्वारले एक हजार ६३० र स्वतन्त्र उम्मेदवारले तीन हजार ९९२ मत पाएका थिए ।
स्थानीय तहमा कांग्रेसले पाएको मत मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पोल्टामा पर्ने हो भने उनको सहजै जीत हुने देखिन्छ । तर, पौडेल ढुक्क भएर बस्ने भने अवस्था छैन । २०७४ सालमा पनि अंकगणितीय हिसाबमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल जीत नजिक थिए नै ।
स्थानीय निर्र्वाचन अगावै पौडेललाई पराजित गर्ने चेतावनी दिँदै जनताको घरदैलोमा पुगेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको उम्मेदवारी अघिल्लो चुनावमा जस्तै यसपाली पनि पौडेललाई मुख्य चुनौती बनेको छ ।
यस्तै, अहिलेसम्म विभिन्न पटक चुनाव लडेर पनि जीतकाे स्वाद चाख्न नपाएका एमालेका नेता एकबहादुर गुरूङ पाैडेलकाे प्रतिस्पर्धी छन् । उनीप्रति मतदाताकाे सहानुभूतिसमेत छ ।
सातौं चुनाव जितेर प्रधानमन्त्री बन्ने सपना देखेका पौडेलको निद हराम जोशीकै उम्मेदवारीले भएको छ । जोशी गृह मन्त्री बन्दा तनहुँका थुप्रैलाई सेना प्रहरी र शिक्षा मन्त्री भएको बेला शिक्षकको जागिर लगाइदिएको चर्चा अहिले पनि हुन्छ । जोशीको समूहमा नखुलेका कांग्रेसमा रहिरहेकाहरुको पनि भोट काट्न आँकलन गरिन्छ ।
गएको स्थानीय निर्वाचनमा जोशीपुत्र दीपकराज जोशीले नेकपा एमालेसँग तालमेल गरेर व्यास नगरपालिकाको मेयरमा लडेका थिए । नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले जोशी पराजित भए । न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८२६ मत पाए । एमालेबाट उपमेयरको उम्मेद्वार बनेकी बसुन्धारा घर्तीले भन्दा जोशीले एक हजार ७८४ मत बढी पाए । भानु नगरपालिकामा पनि जोशी समुहको प्र्रभाव राम्रो छ ।
पौडेल पक्षका विश्व बास्तोला पनि कांग्र्रेस बाहिर छन् । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सचिव रहेका उनले पौडेल विरुद्ध उम्मेद्वारी दिएर फिर्ता पनि लिइसके ।
नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङले हालै कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेर तनहुँ १ (ख) को उम्मेद्वार बनेका छन् । उनले पनि कांग्र्रेस विशेष गरी जनजाती समुदायको भोट काट्ने सम्भावना बलियो छ ।
एक पटक जसरी पनि देशको प्रधानमन्त्री बन्ने जुनून बोकेर चुनावी मैदानमा होमिएका पौडेलले यसपटक तनहुँ क्षेत्र नम्बर १ का जनतालाई पनि त्यही सपना देखाइरहेका छन् । गठबन्धनको मत स्वभाविक हिसाबले एमालेको भन्दा धेरै अगाडि भएकाले पौडेलको जीत हुने आंकलन गरिएको छ भने जोशीको मत एमालेलाई नगइ आफैंलाई जाँदा पौडेललाई नै फाइदा हुने छ ।
प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०७:३५




