२०८३ साउन २१ गते बिहीबार

नेपालले जित्यो यू–१५ साफ

नेपालले जित्यो यू–१५ साफ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ०७:५२

काठमाडौँ — खेल सकिन एक मिनेटअघि गोलरक्षक सुजाता तामाङले पेनाल्टीबाट गोल हुन नदिएपछि नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ । ढाकामा भएको निर्णायक खेलमा नेपालले आयोजक बंगलादेशलाई...

काठमाडौँ — खेल सकिन एक मिनेटअघि गोलरक्षक सुजाता तामाङले पेनाल्टीबाट गोल हुन नदिएपछि नेपालले ऐतिहासिक सफलता प्राप्त गर्दै शुक्रबार वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ ।

ढाकामा भएको निर्णायक खेलमा नेपालले आयोजक बंगलादेशलाई १–१ को बराबरीमा रोकेको हो । एक मिनेट बाँकी हुँदा नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधि नेपालको पक्षमा आएको हो ।

 

बंगलादेशविरुद्ध भएको यस दोस्रो खेलमा सुशीला केसीको गोलमा नेपालले १४ औं मिनेटमा अग्रता लिएको थियो । दोस्रो हाफको ५४ औं मिनेटमा बंगलादेशबाट रुमा अख्तरले बराबरी गोल फर्काइन् । यसपछि खेल रोमाञ्चक बनेको थियो । यसैक्रममा खेलको अन्त्यतिर विपना स्नेहीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेश गोल गर्न चुकेको हो । बंगलादेशकी बीबी रिताले प्रहार गरेको पेनाल्टी नेपालकी गोलरक्षक सुजताले जोगाइन् । बंगलादेशले उपाधि हात पार्नका लागि नेपालमाथि यो खेलमा निश्चित जित निकाल्नु आवश्यक थियो ।

 

डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालको ४ खेलबाट १० अंक बटुल्यो । नेपाल प्रतियोगितामा अपराजित एक्लो टिम रह्यो । बंगलादेश भने ७ अंकमै सीमित रह्यो । तीन टिमसम्मिलित प्रतियोगितामा भुटान अंकविहीन हुँदै पुछारमै रह्यो । नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो ।

 

सुजाता प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक पनि भइन् । प्रतियोगिताका उच्च गोलकर्ता तथा उत्कृष्ट खेलाडी बंगलादेशकी सौरभी अखण्ड प्रीति भइन् । महिला फुटबल इतिहासमा नेपालले उपाधि जितेको यो दोस्रोपल्ट हो । दक्षिण एसियाली फुटबलमै नेपालले उपाधि जितेको भने यो पहिलोपल्ट हो । यसअघि नेपालले २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजनल च्याम्पियनसिप जितेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०७:५२
हजुरको प्रतिक्रिया