पाेखरा
नेकपा एमाले कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले आवश्यक नीति निर्माणसँगै विकासमा पनि ध्यान दिने बताएकी छन् । आसन्न निर्वाचनका लागि घरदैलोमा रहेकी उनले आफूलाई अधिकार दिए कर्तव्य पनि पूरा गर्ने प्रतिवद्धता जाहेर गरेकी हुन् ।
‘पोखरामा थपिएका नयाँ वडाहरुको घरदैलो कार्यक्रममा मतदाताको पहिलो आवश्यकता सडक निर्माण हो,’ उम्मेदवार भट्टराईले भनिन्, ‘त्यसका लागि सम्भाव्यता अध्ययन गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता छ ।’
जुनसुकै सरकारले गरेका विकास निर्माण राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलीय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएको भट्टराईको भनाइ थियो ।
घरदैलो कार्यक्रमका पोखराका थपिएका नयाँ वडा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टौं खर्चिनु पर्ने अवस्था रहेको भट्टराईले औंल्याइन् । उनले भनिन्, ‘यसको अन्त्य गर्न सडक यातायात आवश्यक छ । सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।’
कास्की २ क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् ।
प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०५:४७




