२०८३ साउन २१ गते बिहीबार

को हुन् दीपक गुरुङ माइला ?

को हुन् दीपक गुरुङ माइला ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २७ गते आइतबार ०५:४८

पोखरा । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर १ (२) मा दीपक गुरुङ माइलालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । उनको प्रतिष्पर्धा नेकपा एमालेका वेदबहादुर गुरुङ श्यामसँग हुनेछ । साविक थुमाकोडाँडा गाविसमा जन्मेका गुरुङ विद्यार्थी...

पोखरा । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर १ (२) मा दीपक गुरुङ माइलालाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । उनको प्रतिष्पर्धा नेकपा एमालेका वेदबहादुर गुरुङ श्यामसँग हुनेछ ।

साविक थुमाकोडाँडा गाविसमा जन्मेका गुरुङ विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर १३ मा वडा सदस्यमा पराजित भएका गुरुङलाई पाँच वर्षपछि प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने अवसर जुरेको छ ।

नेपाली कांग्रेसमा विद्यार्थीकालीन राजनीतिबाट प्रवेश गरेका गुरूङ तरुण दलहुँदै हाल पार्टीको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि हुन् । २०३८ असार २२ गते जन्मिएका गुरुङको राजनीति पृथ्वीनारायण क्याम्पसमा पढ्दाताका २०५६ साल बाट नेपाल विद्यार्थी संघमार्फत सुरु भएको हो ।

उनी अहिले तरुण दल कास्कीको उपसभापति हुन् । मादी क्षेत्रमा प्रख्यात र लोकप्रिय खेल बास्केटबलको विकास उनकै पहलकदमीमा सुरु भएको थियो । २०५४ सालमा दीपकले याङ्जाकोट, ताङतिङ, सिक्लेस, चिप्लीलगायत ठाउँमा मार्ले नामक बास्केटबल टिम स्थापना गरेका थिए । उनै दीपकले सुरुवात गरेको बास्केटबलले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।

पोखरा १३ मा वर्षेनी लोकप्रिय सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गरेको छ । विजयादशमीको अवसरमा हुने कालरात्री सांगीतिक कार्यक्रमको सुरुवातकर्ता उनै हुन । गुरुङ भद्रकाली बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्यसमेत हुन ।

मादीलाई पर्यटकीय हब बनाउने एजेन्डालाई अगाडि सारेर उनी चुनावी मैदानमा होमिएका छन् । यसका अलावा क्होंलासोंथर सांस्कृतिक पदमार्ग र पोखरा–मादी–मनाङ रुटलाई भर्जिन ट्रेकका रुपमा विकास गर्ने उनको योजना छ । घरबास योजनाअन्तर्गत परम्परागत शैलीमा निर्माण भएका घरहरुको संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक २७ गते आइतबार ०५:४८

हजुरको प्रतिक्रिया