पोखरा । कास्की क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऋगेन्द्र नेपाली गिरी यतिबेला मत माग्दै घरदैलोमा छन् । उनको मुख्य एजेन्डा छ, ‘गाँजा, घरेलु मदिरा खुला गर्ने र सालको काठ काट्न पाउने ।’ ऋगेन्द्रले स्वदेशी उत्पादनलाई वृद्धि गर्न सकेमात्रै देश समृद्धिको बाटोमा जाने सुनाउँछन् । उनले आफ्नो चुनावी नारा नै ‘देश बन्छ, जब नेपालमै बन्छ’ उल्लेख गरेका छन् । उनले परम्परागत ढर्राका राजनीतिक दलले नै युवामा राजनीतिप्रति नै वितृष्णा जगाइराखेकोसमेत आरोप लगाए । ‘अहिलेका युवालाई राजनीतिसँग जोड्न र उत्पादन बढाउन मैले उम्मेदवारी दिएको हुँ,’ उनी भन्छन् ।
नेपालमा गाँजा तथा स्थानीय रुपमा उत्पादित मदिरा खुला गर्दा अर्थतन्त्रमा ठूलो अर्थ राख्ने ऋगेन्द्रको भनाइ छ । ‘गाँजाको कुरा गर्दा, रक्सीको कुरा गर्दा मेरो भोट घट्ला । तर, यसले मेरो एजेन्डालाई फरक पार्दैन,’ उनी भन्छन्, ‘रक्सीले अर्थतन्त्र चलायमान बनाउँछ भन्ने सबैले थाहा पाइसक्नु भएको छ । औद्योगिक रक्सीभन्दा हाम्रा घरेलु रक्सीले मान्छेलाई सभ्य नै राख्छ ।’
नेकपा एमालेकी विद्या भट्टाई, ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालसँग चुनावी प्रतिस्पर्धामा रहेका नेपालीले संसद भौतिक विकासभन्दा पनि नीति बनाउन जाने थलो भएको बताउँछन् । मतदातालाई पुल, बाटो देखाएर भोट माग्ने गलत अभ्यास भइरहेको उनको भनाइ छ ।
यसअघि कास्की २ बाट प्रतिनिधि सभामा नेकपा एमालेका रवीन्द्र अधिकारीले जितेका थिए । तर, पछि उनको हवाइ दुर्घटनामा मृत्यु भएपछि विद्या भट्टराईले उपचुनावमा निर्वाचित भएकी थिइन् । यस क्षेत्रमा पोखराका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडा पर्छन् ।
प्रकाशित मिति २०७९ कात्तिक २७ गते आइतबार ०६:३७

