पोखरा
पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका नेतालाई धमाधम प्रहरीले पक्राउ गर्न थाल्यो ।
२०४४ सालतिर पञ्चायतविराधी अभियानमा क्रममा विद्यार्थी नेता श्रीनाथ बरालले आवरण अनसन थाले । तत्कालीन अनेरास्ववियुका नेताहरु तुबहादुर गुरुङ, रामनाथ गुरुङ र विजय गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । तत्कालीन अञ्चलाधीश नरेन्द्र चौधरीले धम्की दिए, ‘तुरुन्त आवरण अनसन तोड्नु, नत्र मर्छस् ।’
१३ दिन आवरण अनसन बसिसकेपछि उनको स्वास्थ्य गम्भीर बन्यो र प्रहरी घेराभित्रबाट अनसन तोडाइयो । स्वास्थ्य बिग्रदै गएपछि अञ्चालाशीषले मर्छस् भनेका श्रीनाथ अहिले कास्की क्षेत्र नम्बर २ मा लोकतन्त्रलाई बचाउने उद्घोष गर्दै मत मागिरहेका छन् । नेकपा एमाले छँदा एक पटक तत्कालीन विकास समितिको उपाध्यक्ष भएका श्रीनाथले संसदीय निर्वाचन लड्न भने त्यही एमालेबाट बिद्रोह गर्नुप¥यो ।
२०६४ यताका हरेक निर्वाचनमा आकांक्षा राखेर पनि टिकट नपाएका श्रीनाथले नेकपा विभाजनपछि माधवकुमार नेपाल नेतृत्वमा गठित एकीकृत समाजवादी पार्टीमा लागे । कास्कीमा अभागी नेता भनिएका श्रीनाथ चुनाव जितेर संसद छिर्ने ‘अधुरो सपना’ पूरा गर्न लागि परेका छन् । तर, यो सपना पूरा गर्न उनलाई फलामकै चिउरा बन्ने निश्चित छ ।
एमालेको गढ मानिएको कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीको जनाधार कमजोर छ । नेपाली कांग्रेसको सहारामा चुनाव लडेका श्रीनाथ आफूप्रतिको सहानुभूतिलाई समेत मतमा बदल्दै चुनावी जित्ने अभियानमा छन् । श्रीनाथसँग अर्को संयोग पनि छ, अघिल्लो निर्वाचनमा जसलाई जिताउन हिँडे, यसपटक उनैसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ ।
रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमार्फत छिरेकी पत्नी विद्या भट्टराई यसपटक चुनाव लडेर पूरा कार्यकाल सांसद बन्न कस्सीएर लागेकी छन् । केपी शर्मा ओलीकै जोडबलमा दोस्रो पटक जनताको अभिमत प्राप्त गर्न मैदान उत्रिएकी विद्या नै श्रीनाथको सबैभन्दा पहिलो चुनौति बनेकी छन् ।
श्रीनाथका निम्ति अर्को चुनौति भनेको कांग्रेसकै मतको भर पर्नुपर्ने क्षेत्रमा कांग्रेसका नेता तथा पूर्व मन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसको आफ्नै चुनाव चिह्न नभएकाले यसपटक महादेवले राम्रै मत ल्याउन सक्ने र त्यसको सोझो फाइदा विद्या भट्टराई नै हुने चर्चा निर्वाचन क्षेत्रमा छ ।
महादेवको उम्मेदवारी निस्क्रिय गराएर श्रीनाथको पक्षमा सघाउन कांग्रेस सभापति शेरबहादुर देउवाले आग्रह गरेका थिए । महादेवले कारबाही सहने तर उम्मेदवारी फिर्ता नगर्ने जवाफ दिए । माधवकुमार नेपालले पोखरामा आउँदा महादेवलाई भेटेर श्रीनाथलाई सघाउन भनेका थिए । तर, महादेवले जवाफ फर्काए, ‘पार्टीबाट किन बिद्रोह गरिन्छ त्यो तपाईंलाई थाहा छ, मैले शेरबहादुर देउवासँग विद्रोह गरेको हुँ ।’
स्थानीय तहको निर्वाचनमा पनि पोखराको मेयर एकीकृत समाजवादी पार्टीले नै पायो र एमालेकै मतसमेत काटेर गठबन्धनबाट मेयर धनराज आचार्यले चुनाव जिते । श्रीनाथले पनि एमालेकै मत काट्ने रणनीति अपनाइरहेका छन् । तर मेयर आचार्यलाई जस्तो श्रीनाथको पक्षमा मत नजाने विश्लेषण नेताहरुको छ ।
पृथ्बीनारायण क्याम्पसमा समाज तथा मानव सात्र स्नातकोत्तर गरेका श्रीनाथ पोखराको मेयर हुने आकांक्षा पनि राखेका थिए । श्रीनाथसँग मान्छेका सहानुभूति भए पनि एमालेको मत नै काट्ने गरी आकर्षण नभएको नेताहरुको भनाइ छ ।
कास्की क्षेत्र नम्बर १ बाट सिफारिस भएका श्रीनाथले कास्की २ बाट टिकट पाए । कास्की–१ कांग्रेसको भागमा परेपछि एमालेकै पूर्व सहकर्मी रवीन्द्र अधिकारीको बिरासत ढलाउने होडमा उनी छन् । तर, आफैंलाई मत हाल्नबाट बञ्चित हुनुपर्ने अवस्थामा उनी छन् ।
कास्की ओली समूहको वचश्र्व भएको जिल्ला हो । यहाँ माधवकुमार नेपाल समूहले कमैमात्र अवसर पाएको र सधैं मारमा पर्ने गरेको गुनासो सुनिन्थ्यो । श्रीनाथ पनि पटक पटक सिफारिस भएर टिकट नपाएका पात्रमध्ये पर्छन् ।
२०७४ सालको निर्वाचनमा उनले आकांक्षा राखेनन् तर क्षेत्र नम्बर १ मा खगराज अधिकारीले जिताउने कमाण्डनै सम्हालेका थिए । २०७६ मा भएको उपनिर्वाचनमा श्रीनाथ विद्यालाई चुनाव जिताउने कमाण्डरमध्ये कै एक थिए ।
अघिल्लो निर्वाचनमा जसलाई जिताउन लागिपरेका थिए, अहिले उनैलाई हराउने अठोटका साथ श्रीनाथ ५ दलीय गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका छन् ।
नेकपा विवादले एमाले–माओवादी अलग गराइदिएपछि एमालेबाट माधवकुमार नेपाल समूह पनि अलग भयो, उनी केन्द्रीय पोलिब्युरो सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज भए ।
संसदीय निर्वाचन लड्ने हुटहुटी लिएर कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न त सफल भएका छन् तर संसदयात्रा तय गर्न भने चुनौतिपूर्ण देखिएको छ । कास्की क्षेत्र नम्बर २ मा ५ दलीय गठबन्धन एमालेभन्दा १ हजार मतलेमात्र अगाडि छ ।
प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार १२:३१




