पोखरा
विद्यार्थी आन्दोलनको रापतापले खारिए पनि संसदीय राजनीतिमा आउन विद्या भट्टराईलाई दुई दशक बढी लाग्यो । अनेरास्ववियुको सचिव भइसकेकी विद्या २०५५ सालमा विवाह भएपछि श्रीमान रवीन्द्र अधिकारीको राजनीतिक यात्रा फराकिलो बनाइदिन घर परिवार सम्हालिन् । ०७२ सालदेखि रत्नराज्य क्याम्पसमा स्थायी रुपमा उप–प्राध्यापकको जागिर सुरु गरेकी विद्याले राजनीतिमा फर्किनेबारे सोचेकै थिइनन् ।
१५ फागुनमा २०७५ ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि विद्याको जीवनमा नयाँ मोड आयो । कास्की २ मा हुने उपचुनावमा पार्टी उम्मेदवार बनाउने निर्णय गरेपछि विद्या राजनीतिमा फर्किइन् ।
देशलेमात्रै होइन, आफ्नै जिन्दगीमा घटेको दुखद् घटनाले नकल्पेको निर्वाचनमा उभिनुप¥यो । २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्राध्यापनमा रमाइरहेकी विद्याको राजनीतिक पुनरागमन भयो ।
अधिकारीको निधनले आँखा नओभाउँदै २०७६ मंसिरमा भएको उपनिर्वाचनमा नेकपा एमालेले कास्की–२ मा उम्मेदवार बनाउँदा धेरै शब्दकातिरहरु खेपिन्, रवीन्द्रको निधनपछि संवेदनाको मत तान्न विद्यालाई खडा गरियो । त्योबेला विद्या भन्थिन्, ‘मान्छे विशेष घटनाक्रमले पनि राजनीतिमा आउँदो रहेछ । म प्राध्यापनमा थिएँ तर राजनीतिबाट टाढा थिइनँ ।’
काठमाडौंलाई आधार बनाएर विद्यार्थी राजनीति गरेकी विद्या रवीन्द्रको निधनपछि एमाले विरासत धान्न आइपुगिन् । शोकलाई शक्तिमा बदलेर चुनाव लड्ने साहस बटुलेको बताउँदै विद्या भन्छिन्, ‘रवीन्द्रको सपना पूरा गर्न बुहारी होइन, कास्कीमा एउटा छोरी चुनाव लड्न आएकी छ ।’
४ वटा निर्वाचन क्षेत्र हुँदा कास्की–३ बाट चुनाव जितेका राज्यको पुनर्संरचना भएर ३ वटा क्षेत्र बनेपछि कास्की–२ मा बाट चुनाव जितेर रवीन्द्रले ह्याट्रिक मारेका थिए । त्यही क्षेत्रमा रवीन्द्रकै बिरासतलाई पछ्याउँदै, संवेदनाको मतसमेत बटुल्दै एमालेबाट उपनिर्वाचन जितेर विद्याले संसद यात्रा तय गरिन् । तर, यसपटक उनी संवेदनाले होइन, एजेण्डा र व्यक्तित्वले मत ल्याएर जित्ने होडमा छिन्, विद्या ।
उपनिर्वाचनमार्फत संसद छिरे पनि जनताको घर दैलोमा विकासको कार्यक्रम लिएर जान नपाएको र रवीन्द्र अधिकारीकै अपेक्षा आफूमाथि भएको विद्याको अनुभव छ । उनी सांसद त भइन् तर नेकपा विवादले संसद नै लामो समय अवरुद्ध भयो । नेकपा विवादमा पार्टीका नेता कार्यकर्ता विभाजित हुने अवस्था आयो ।
माले÷एमाले विभाजन हुँदा माले पक्षसँग नजिक रहेकी विद्यालाई नेकपा विभाजनमा भने धेरैजसो उनका दाइ राजन भट्टराई, उनी नजिकका नेता पनि ओली समूहमै लागेपछि विद्याले पनि ओली नै रोजिन् । लामो समयपछि संसद खुलेपछि भने कानुन निर्माणमा सक्रिय सहभागी जनाएकी विद्याले विभिन्न ऐनमा संशोधन प्रस्ताव हाल्ने, महिला, बालबालिकाको पक्षमा बोल्ने गरिन् ।
तर, जनताको तहमा अझै सांसदले योजना नै बाँड्नुपर्छ भन्ने मान्यता भएकाले संसदमा आफूले निभाएको भूमिका नदेखिएको विद्या बताउँछिन् । यो बीचमा विद्याले शालिन, तार्किक र शिष्ट नेताको परिचय बनाएकी छन् ।
आफ्नै परिचय र यसअघिको अनुभवलाई लिएर विद्या जनताका बीचमा गएकी छन् । यसअघि विशेष घटनाक्रमले उपनिर्वाचनमा होमिनु परेको र अब पूरा कार्यकाल जनताको माग पूरा गर्ने, संसदमा जनताकै आवाज बोल्ने बताउँदै विद्या मतादाताको घरदैलोमा छिन् । केपी ओलीकै रोजाइ र जोडबलमा दोस्रो पटक चुनावी मैदानमा होमिएकी विद्याको निम्ति स्थानीय तहमा गठबन्धनले प्राप्त गरेको मतअनुसार जीत निकाल्न सहज छैन ।
गठबन्धनको सबैभन्दा ठूलो नेपाली कांग्रेसकै भोटको भर पर्नुपर्दा गठबन्धनका श्रीनाथलाई भन्दा विद्यालाई सहज हुने अनुमान धेरैको छ । त्यसैमाथि नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दिएका छन् । जसका कारण विद्यालाई झनै सहज भएको विश्लेषण निर्वाचन क्षेत्रमा छ ।
कास्की क्षेत्र नम्बर २ मा विद्या रवीन्द्र अधिकारीदेखिको एमाले विरासत गुमाउन नदिने पक्षमा छैनन् । तर, ४ दसकको राजनीतिक जीवनमा पहिलो पटक उम्मेदवार बनेका श्रीनाथ गठबन्धनबाट विद्यालाई हराउन कसरत गरिरहेका छन् । रवीन्द्रले ह्याट्रिक मारेको क्षेत्रमा विद्या पनि यसपटक दोहोरिन हरतरहले लागिरहेकी छन् ।
सांसद भएर चुनावको चर्चा सुरु भइसक्दा मान्छेहरुले अब फेरि प्राध्यापनमा फर्किने र राजनीतिमै सक्रिय हुने भनेर विद्यालाई सोध्न थालेका रहेछन् । फरक क्षेत्रबाट राजनीतिमा आइसकेपछि फेरि जाने कि आउने भन्ने प्रश्नहरुले उनलाई घोच्दो रहेछ ।
‘हिजो जतिबेला राजनीतिमा थिएँ, विद्यार्थी आन्दोलन एउटा मुद्दामा केन्द्रित थियो । विद्यार्थीका मागहरु नै हाम्रा एजेन्डा थिए,’ विद्या भन्छिन्, ‘विवाहपछि राजनीतिसँग जोडिरहे पनि फ्रन्टलाइनर भइनँ । मेरो पहिचान भनेको एउटा प्राध्यापक, एक्टिभिस्टका रुपमा मात्रै रह्यो । तर एउटा अवस्थाले फ्रन्टलाइनर भएर निस्किएँ ।’
समाजशास्त्रमा एमफिल गरेकी भट्टराई संघीय संसदमा उनको सक्रिय सहभागिता र प्रभावकारी भूमिका खेलेको भन्दै एमालेले फेरि उम्मेदवार बनाएको हो र यो अवसरलाई कुनै पनि हालतमा गुम्न दिन लागिपरेकी छन् ।
कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्छन् । यी ११ वटा वडाध्ये ६ वडामा नेपाली कांग्रेसले जितेको छ भने ५ वटा वडामा कांग्रेस विजयी भएको छ ।
१७, २१, २० लगायतको वडालाई नेकपा एमालेको ‘उत्तर कोरिया’ नै भन्ने गरिएको छ । ४, ७, ९, ११ लगायतका वडा कांग्रेसको बलियो जनाधार भएको वडा मानिन्छ । गएको स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा प्रतिनिधि सभाको निर्वाचन कसले जित्छ यसै भन्न सकिने अवस्था भने छैन ।
एमालेका वडाध्यक्षका उम्मेदवारले गत स्थानीय तहको निर्वाचनमा २१ हजार १ सयको हाराहारीमा मत प्राप्त गरेका थिए । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत गरेका थिए । एकीकृत समाजवादीका उम्मेदवारले २ हजार ५३ मत र माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८ मत ल्याएका थिए ।
राप्रपाबाट वडाध्यक्षका उम्मेदवारले २ हजार ७९ र स्वतन्त्र तथा अन्यले ७५० मात्र मत प्राप्त गरेका थिए । स्थानीय तहको मतलाई हेर्दा कांग्रेस, एकीकृत समाजवादी र माओवादीका वडाध्यक्षले पाएको मत हेर्दा एमाले करिब १ हजार मतले मात्र पछि छ । तर, स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी, माओवादीले सबै वडामा उम्मेदवार नउठाएकाले आफ्नो मतको परीक्षण नहुने उनीहरुको भनाइ छ ।
एमालेले पनि अघिल्लो निर्वाचनमा अन्तर्घात पनि भएको र यो निर्वाचनमा त्यस्तो नहुने भन्दै अन्य पार्टीको मतसमेत काटेर व्यक्तित्वका हिसाबले पनि विद्याले चुनाव जित्ने दाबी गरेको छ ।
प्रकाशित मिति २०७९ कात्तिक २८ गते सोमबार १२:३६




