२०८३ साउन २१ गते बिहीबार

मंसिर २४ गते ‘जिफान साँझ’ हुने, ५ करोड उठाउने लक्ष्य

मंसिर २४ गते ‘जिफान साँझ’ हुने, ५ करोड उठाउने लक्ष्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०२:२३

जिफानका अनुसार हासम्म १ सय ६० भन्दा गुरुङ भाषाका फिल्म र ७ सयभन्दा बढी गीतसंगीत प्रदर्शन, सार्वजनिक भइसकेका छन् ।

पोखरा
गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान)ले मंसिर २४ गते ‘जिफान साँझ’ आयोजना गर्ने भएको छ । कार्यक्रम पोखरा सभागृहमा हुनेछ ।

जिफानले बिहीबार पोखरामा गरेको पत्रकार सम्मेलनमा साँझबाट संकलित रकमले संस्थाको जग्गा खरिद गरी भवन निर्माण गरिने अध्यक्ष गुञ्जबहादुर गुरुङले जानकारी दिए । ‘कार्यक्रममा गुरुङहरुको सभ्यता र विकासक्रमसँग सम्बन्धित नाटक, लोक तथा पौराणिक नृत्यहरु, गुरुङ चलचित्रका कलाकारहरुको आकर्षक नृत्यहरु प्रस्तुत गरिने छ,’ उनले भने ।

जिफानले कार्यक्रमबाट ५ करोड रुपैयाँ संकलन गर्ने अपेक्षा राखेको छ । ‘हाम्रो आफ्नै भवन निर्माण भएपछि यसबाट निकै लाभान्वित हुने विश्वास लिएको छु । यसले सम्पूर्ण चलचित्रकर्मी, भाषा, कला र सस्कृतिको प्रवद्र्धन एवं संरक्षणमा टेवा पुग्ने छ,’ अध्यक्ष गुरुङले भने ।

संस्थाका महासचिव लब्सन गुरुङले जिफानले विभिन्न चलचित्र तथा गीतसंगीत मार्फत गुरुङ समुदायको भाषा, कला र सस्कृतिलाई जोगाउन उल्लेखनीय भूमिका खेलेको बताए । ‘२७ वर्षदेखि हामीले यस क्षेत्रबाट आफ्नो कला र सस्कृति जोगाउन लागिपरेका छौं । त्यसकारण हाम्रो योगदानको मूल्यांकन हुने विश्वास लिएको छु,’ उनले भने, ‘संस्थाको जग्गा खरिद तथा भवन निर्माण अभियानका देश तथा विदेशमा पनि कार्यक्रम गरिने छ ।’

संस्थाका उपाध्यक्ष सन्तोष कोन्मेले कार्यक्रममा २०५२ सालदेखि हालसम्म निर्माण भएर जिफानमा दर्ता भई प्रदर्शन भएका चलचित्रहरुको पोष्टर प्रोजेक्टर तथा बोर्डमार्फत प्रदर्शन, लोकप्रिय गायक गायिकाले सांगीतिक प्रस्तुति दिने जानकारी दिए ।

२०५२ सालमा गुरुङ भाषाको ‘पाते’ फिल्म सार्वजनिक भएको थियो । सोही फिल्मलाई नै गुरुङ भाषाको पहिलो फिल्म मानिन्छ । त्यसयता गुरुङ फिल्म निर्माण तीव्र रुपमा अगाडि बढेको थियो ।

२०६४ मा तत्कालीन तमु युवा सांस्कृतिक परिवारले पोखरामा पहिलो पटक गुरुङ फिल्मकर्मीको उपस्थितिमा माओत्से गुरुङको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । सोही समिति नै ०६५ सालमा गुरुङ फिल्म एसोसियन (जिफा) नामाकरण गरिएको थियो । जसको परिमार्जित रुप नै आजको जिफान हो । जिफानका अनुसार हासम्म १ सय ६० भन्दा गुरुङ भाषाका फिल्म र ७ सयभन्दा बढी गीतसंगीत प्रदर्शन, सार्वजनिक भइसकेका छन् ।

गुरुङ फिल्मलाई नेपाली सिने जगतमा दोस्रो ठूलो बजारका रुपमा लिइन्छ । गुरुङ समुदायको बाहुल्य रहेको पोखरामा केही समयअगाडि औपचारिक रुपमै थियटरमै गुरुङ फिल्म नियमित प्रदर्शन पनि सुरु गरिएको थियो । तर, हाल स्थगन छ । ‘बीचमा कोरोना महामारीले गुरुङ फिल्म, संगीत सुस्त बन्यो, अब विस्तारै आफ्नो लयमा फर्किन्छ,’ उपाध्यक्ष कोन्मेले भने ।

 

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०२:२३
हजुरको प्रतिक्रिया