पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रक्रिया अन्तरगत मंसिर ५ गतेदेखि हुने यान्त्रिक उडान परीक्षण अर्थात् क्यालिब्रेसन उडानको तयारी अन्तिम चरणमा पुगेको छ । क्यालिब्रेसन उडानका लागि यान्त्रिक परीक्षण उडान गर्न एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको छ । मंसिर ५ देखि १२ गतेसम्म एक साता चल्ने क्यालिब्रेसन उडानको लागि अरु आवश्यक व्यवस्थापन भइरहेको र जनशक्तिबाट कमीकमजोरी सच्याउने काम तीव्र रुपमा गरिरहेको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । उनले भने, ‘ आवश्यक जनशक्तिले साइट भिजिट गर्दै, सच्याउदैँ छ, जुनजुन इक्वेप्मेन्ट इन्स्टल भएको छ, त्यसलाई सम्बन्धित विज्ञले हेर्ने काम भइरहेको छ ।’
परीक्षणको अन्तिम तयारीका लागि विमानस्थलको एप्रोन, रनवेलगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । तर उडानका लागि केही समय मात्र बाँकी रहँदा पनि चराहरुको गतिविधिलाई रोक्न सकेकोे छैन । विमानस्थलको रनवे तथा एप्रोनसम्म गिद्धहरु उडिरहेका छन् । शुक्रबार दिउँसो विमानस्थलमा पानीको फोहोराले सरसफाई भइरहदाँ पानी पिउन गिद्धहरु आइरहेका थिए । उडान हुने स्थलमा दर्जनौं गिद्ध उडिरहेका छन् । जसले गर्दा विमानस्थलको उडानलाई प्रभाव पार्ने देखिन्छ ।

विमानस्थल आयोजना प्रमुख मुनकर्मीले ल्यान्डफिल साइटको व्यवस्थापनका लागि सुरुआतबाटै पोखरा महानगरलाई आग्रह गर्दै आइरहेको बताउँछन् । तर पटकपटक बसेको बैठकबाट विकल्प ननिस्कएको उनले बताए । ‘म आएको नै ५ वर्ष भयो । म आउनुभन्दा पनि पहिल्यैबाट महानगरलाई ल्यान्डफिलको विकल्प खोज्न आग्रह गरिएको थियो’ मुनकर्मीले भने, ‘ विकल्पका लागि देखाइएका ठाउँहरुमा हामी आफँ सहभागि भएर सुझाव दिदैँ आएका छौ ।’ उनले चराको गतिविधि कम गर्नका लागि मंसिर ५ गतेबाट महानगरलाई ल्यान्डफिल साइटमा फोहोर नफाल्न आग्रह गरिएको बताए । ‘महानगरले ५ गतेसम्म सकिदैँन । केही दिन म्याद थप्न अनुरोध गर्नुभयो, डिसेम्बरदेखि फोहोर फाल्दैनौं भन्नुभएको छ’ उनले भने ‘उहाँहरुले हाल अस्थायी रुपमा व्यवस्था गर्छौं भन्नुभएको छ ।’ क्यालिब्रेसन उडानका लागि महानगरसंग समन्वय गरी ल्यान्डफिल साइट छोप्ने तयारी भएको उनले सुनाए ।

हाल विमानस्थलमा चरा भगाउन गाडी तैनाथ छ भने डिभाइस समेत राखिने बताइएको छ । तर चराविद्हरुले भने चराचुरुंगीले आफ्नो बासस्थान सार्न ६ महिनाभन्दा बढी समय लगाउने बताउँदै आएका छन् ।
यता पोखरा महानगरका मेयर धनराज आचार्यले ल्यान्डफिल साइटको विकल्प अझै नभेटिएको बताएका छन् । उनले ल्यान्डफिल साइटको लागि अध्ययन भइराखेतापनि टुंगो नलागेको जानकारी दिए । क्यालिब्रेसनका लागि ल्यान्डफिल सार्न नपर्ने भएकाले केही समयका लागि अस्थायी रुपमा अन्त फोहोर व्यवस्थापन गरिने आचार्यले बताए ।
काटियो रिठ्ठेपानी डाँडा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको इपीसी कन्ट्रयाक्ट अर्थात् इन्जिनियरिङ्ग प्रोक्युरमेन्ट कन्स्ट्रक्सन कन्ट्रयाक्टमा रिठ्ठेपानी डाँडाको विषय उल्लेख थिएन । विमानस्थल निर्माणको काम अघि बढिसकेपछि मात्र अध्ययन गर्दै जाँदा पूर्वपट्टी रहेको रिठ्ठेपानी डाँडा उडानका लागि अवरोधको रुपमा देखा प¥यो । अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्ने भयो । प्रक्रिया पुरा गर्न लामो समय अड्किएको रिठ्ठेपानी डाँडा कटानको कार्य अहिले अघि बढेको छ । क्यालिब्रेसन उडानका लागि रिठ्ठेपानी डाँडामा तोकिएको १४ मिटर काटिसकिएको आयोजना प्रमुख मुनकर्मीले सुनाए । उनले भने, ‘बुधबार नै १४ मिटर सकियो । अहिले करिब १६ मिटर डाँडा कटान भइसकेको छ ।’

विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम सकियो
आयोजना प्रमुख मुनकर्मीका अनुसार विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम पुरा भइसकेको छ । अहिले प्राविधिक पक्ष व्यवस्थापनको काम भइरहेको उनले बताए । उनले भने, ‘विमानस्थलको ९८.५ प्रतिशत काम पुरा भइसकेको छ । क्यालिब्रेसन फ्लाइट र त्यसपछि डेमोशट्रशन फ्लाइट भएसंगै विमानस्थलको काम पुरा हुनेछ ।’ क्यालिब्रेसन उडान भइसकेपछि विमानस्थल उडानका लागि तयार भए–नभएको प्रमाणित हुने बताउदैँ उनले त्यसैको प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनीहरु नियमित उडान-अवतरणका लागि तयार हुने जानकारी दिए ।

पोखराको चाउथेमा ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले सन् २०१७ नोभेम्बरदेखि निर्माण गरिरहेको छ । २२ अर्ब लगानीमा निर्माण भइरहेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब सञ्चालनको पर्खाइमा छ । अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरी २०२३ बाट व्यवसायिक उडान सुरु गर्ने घोषणा गरेको विमानस्थलको आन्तरिक तयारी पुरा भइसकेको बताएपनि ल्यान्डफिल साइट स्थानान्तरण, रिठ्ठेपानी डाँडा कटान र प्याराग्लाइडिङ्गको समस्याको समाधान पूर्ण रुपमा भइसकेको छैन ।
प्रकाशित मिति २०७९ मंसिर ३ गते शनिबार १०:००




