२०८३ साउन २१ गते बिहीबार

धर्म छोरालाई जिताउन पोखरा आएका पूर्व भारतीय सेना प्रमुख

धर्म छोरालाई जिताउन पोखरा आएका पूर्व भारतीय सेना प्रमुख

अमृत सुवेदी

@Public 4K Tv

२०७९ मंसिर ७ गते बुधबार ०८:५१

भारतीय सेनाको २/५ जी आर भी सी पल्टन मै हुँदा पोखरा गगनगौंडा लामेआहालका कृष्णबहादुर गुरुङसँग ६० वर्षभन्दा अघि नै मीत लगाएका थिए । मीतका छोरा वुद्धिमान, यामबहादुर गुरुङलाई मेहताले धर्म छोरा बनाएका छन् ।

पोखरा
निर्वाचनका दिन पोखराका विभिन्न मतदानस्थलहरुमा देखिए, भारतीय सेनाका अवकास प्राप्त मेजर जनरल अशोक मेहता । निलो चस्मा, शीरमा ढाका टोपी र कोट पाइन्टमा लाहुरे ठाँटमा प्रस्ट नेपाली बोल्ने मेहता मतदानस्थलहरुको अवलोकन गर्दै पुग्दा धेरैले उनलाई चिनेनन् । सुरक्षा मामिला र भूराजनीतितर्फ चासो राख्ने केहीले उनलाई ठम्याए पनि खासै चर्चाको विषय बनेन । उनी विभिन्न मतदान स्थलहरुमा पुगेको चर्चा बिस्तारै फैलिँदै गयो र चासो बन्यो, ‘खास किन मतदानस्थलमा पुगेका थिए, भारतीय सेनाका अवकास प्राप्त मेजर जनरल अशोक मेहता ?’

मेहता यस्ता पूर्व मेजर जनरल हुन्, जो नेपाल मामिलाबारे धेरै जानकारी राख्ने थोरै भारतीयमध्ये पर्छन् । भारतीय सेनाबाट अवकासपछि पनि मेहता भारत सरकारको सुरक्षा नीति निर्माण र रणनीति बनाउन सहभागी हुने गरेका छन् । भारतीय सुरक्षा रणनीतिकार मेहता पोखराको मतदान केन्द्रहरुमा किन पुगेका थिए भन्ने चासो बढेपछि कारण खोजि हुन थाल्यो । मेहता कुनै अनुसन्धान वा प्रभाव पार्न मतदानस्थल पुगेका रहेनछन् । उनी त कास्कीबाट संघीय सांसदको दाबेदार रहेका धर्म छोराले टिकट पाइहाले जिताउन भनेर पोखरा आएका थिए ।

उनका धर्मछोरा वुद्धिमान गुरुङ नेपाली कांग्रेसबाट संघीय सांसदका आकांक्षी थिए । तर, टिकट कांग्रेस कास्की सभापति किशोरदत्त बरालले हात पारे ।

२७ वर्षअघि अवकास लिएरमात्र विवाह गरेका मेहताका सन्तान छैनन् । उनले भारतीय सेनाको २/५ जी आर भी सी पल्टन मै हुँदा पोखरा गगनगौंडा लामेआहालका कृष्णबहादुर गुरुङसँग ६० वर्षभन्दा अघि नै मीत लगाएका थिए । मीतका छोरा वुद्धिमान, यामबहादुर गुरुङलाई मेहताले धर्म छोरा बनाएका छन् । वुद्धिमानका भाइ यमबहादुर भारतीय सेनाकै सेबेदारबाट अवकाश लिएका हुन् । धर्म छोरा वुद्धिमानले टिकट नपाए पनि नेपालको मतदान प्रक्रिया हेर्नका निम्ति उनी विभिन्न स्थलहरुमा पुगेका थिए ।

‘बुबा बर्सेनि १/२ पटक आउने गर्नुभएको छ । मेरो बुबा र उहाँ एउटै पल्टनको सिपाही हुनुहुन्थ्यो । बुबा क्याम्टेनबाट रिटायर्ड हुनुभयो । उहाँ भने मेजर जनरल हुनुभयो,’ वुद्धिमानले भने, ‘मैले टिकट नपाए पनि चुनाव त हेरेर जाउँ भनेर उहाँ १५ दिन बसेर ५ गते फर्किनुभयो ।’

वुद्धिमान यसअघि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए । १४ औं महाधिवेशनमा कास्की–३ को क्षेत्रीय सभापतिमा राजेन्द्रमणि लामिछानेसँग उनी पराजित भएका थिए । यसपटकको चुनावमा टिकट लिन कसरत गरे पनि उनी सफल हुन सकेनन् ।
मेहता लेखनाथ क्षेत्रदेखि मालेपाटनसम्मका विभिन्न मतदानस्थलहरुमा पुगे पनि कुनै दख्खल पु¥याउने उद्देश्य नदेखिएको तर किन आए भन्ने चासो पनि रहेको राष्ट्रिय अनुसन्धानका एक अधिकारीले बताए । मीतका छोराछोरीलाई नै धर्म सन्तान मानेका मेहताले ३/४ महिनाकै अन्तरमा पोखरा आएर विभिन्न ठाउँको भ्रमण गर्ने गरेको वुद्धिमानले बताए ।

कात्तिक २० गते पोखरा आएका मेहता २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औ जन्म जयन्ती (माला काण्ड डे) को अवसरमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । कार्यक्रममा मेहता, १०४ वर्षका रामप्रसाद गुरुङसहित ११ जनालाई सम्मान गएिको थियो । मेहताले आफ्नो ८४ औं वार्षिकोत्सव पनि पोखरामा धर्मछोराकै घरमा मनाएका थिए । अशोकले पोखराको विन्ध्यवासिनी मन्दिरमा आई अदितीसँग विवाह गरेका थिए ।

प्रकाशित मिति २०७९ मंसिर ७ गते बुधबार ०८:५१
हजुरको प्रतिक्रिया