पोखरा
पोखरा–१३ बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताकाविरुद्ध नाराबाजी गरेका छन् । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कास्की कांग्रेसका पूर्व सभापति कृष्ण केसीकै निवासबाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरे । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बरालले टिकट पाए र एमाले उम्मेदवार मनबहादुर गुरुङसँग पराजित भएका छन् । कास्की–१ (१) मा एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’सँग गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भए ।प्रदेश सभा २ मा पनि गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारको हार हुने देखिएको छ । मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज अधिकारीले ठूलो मतान्तरका साथ चुनाव जितेका छन् ।
निर्वाचन हारेपछि कांग्रेसका सोही क्षेत्रका सभापति यमबहादुर गुरुङले कांग्रेसकै अन्तर्घातका कारण चुनाव हारेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले केसी लगायतको समूह कांग्रेसलाई नै हराउन लागेको भन्दै उनले विरोध गरिरहेका छन् । कास्की–१ मा मात्र होइन क्षेत्र नम्बर २ र ३ मा पनि कांग्रेसका मत गठबन्धनको पक्षमा नझरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ ।
कांग्रेस, माओवादी, एकीकृत समाजवादी सबै पार्टीभित्र गठबन्धन अनुशासित नहुँदा हार क्षति बेहोर्नु परेको चर्को आवाज उठिरहेको छ । कास्कीका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी र हलोको खोजि गर्दा गबन्धन्धभित्र भने अनुशासन कायम नभएको, पार्टीभित्रैबाट घात प्रतिघात भएको भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादीभित्र असन्तुष्टिका स्वरहरु सुनिएका छन् ।
०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीको वाम गठबन्धन हुँदा कास्कीको ३ वटै संघीय क्षेत्रमा एमालेले जित निकालेको थियो । प्रदेश सभातर्फ नेपाली कांग्रेसबाट कास्की–२ (२) मा विन्दुकुमार थापा जिल्लामै चुनाव जित्ने एक जनामात्रै थिए । नेकपा माओवादीबाट कास्की–१ (१) दीपक कोइराला र कास्की–३ (२) मा रामजी बरालले जितेका थिए ।
यसपटक कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ५ दलीय गठबन्धन हुँदा अघिल्लो निर्वाचनमा भन्दा पनि बढी क्षति बेहोरेको छ । गत स्थानीय तह र अघिल्लो निर्वाचनमा प्राप्त मतको विश्लेषण गर्दा पनि गठबन्धनका उम्मेदवारले जित्ने हिसाबकिताब थियो । तर, प्रतिनिधि सभातिर कास्की ३ वटै प्रतिनिधि सभा गुमाइसकेको छ ।
कास्कीमा एमालेका मनबहादुरले चुनाव जित्दा कास्की–२ मा गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बराललाई हराउँदै एमालेकै विद्या भट्टराईले दोस्रो पटक संसद यात्रा तय गरेकी छन् ।
अघिल्लो निर्वाचनमा जताततै कांग्रेसले हार बेहोर्दा पनि कास्की–२ (२) मा जित निकालेका विन्दुकुमारले यसपटक पनि कठिन परिस्थितिका बाबजुद फेरि विजयी भएका छन् । कास्की–२ को (१) मा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार विश्वप्रकाश लामिछानेलाई हराउँदै एमालेका भीम कार्की विजय भइसकेका छन् ।
गठबन्धनले क्षति बेहोरे पनि कास्कीमा प्रदेश सभा तर्फबाट भने अघिल्लो निर्वाचनमा भन्दा १ सीट बढी जितेको छ । कास्की–३ (२)मा एमाले नेता राजीव पहारीलाई हराउँदै कांग्रेसका प्रकाश बरालले चुनाव जितेका छन् । जिल्ला खेलकुद विकास समितिबाट राजीनामा दिएर चुनावमा होमिएका प्रकाशले यसअघि नै सांसद भइसकेका एमाले पहारीलाई हराएर इतिहास रचेका छन् ।
युवा संघको अध्यक्ष भएर प्रदेश झर्दा पहारीको लोकप्रियता थियो । तर, प्रदेश सभा सदस्य भएपछि पहारीले लोकप्रियता गुमाए । कहिले फेवाताल नाप्न फिता लिएर हिँडे त कहिले चर्चाका लागि विभिन्न फण्डा गरेर रमाए । स्थानीय तहको निर्वाचनमा एमालेकै उम्मेदवार हराउन लागेको आरोप लागेका पहारीलाई पहिलो पटक संसदीय निर्वाचनमा होमिएका प्रकाशले हार चखाए । प्रदेश सभातिर भने एमालेले थप २ सीट गुमाउँदा पनि अघिल्लो निर्वाचनको परिणामभन्दा १ सीट बढी जितेको छ ।
कास्की–३ मा गण्डकीका अर्थमन्त्रीसमेत रहेका रामजी बराल ‘जीवन’ले हार बेहोरिसकेका छन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री हुँदा करको दर बढाएर आलोचित बनेका बरालले गठबन्धनको ठूलो मत गुमाए । कांग्रेस र माओवादीको असन्तुष्टीले ठूलो मत घन्टीलाई जाँदा बरालले हार बेहोरे ।
कास्की–३ (१) मा माओवादी अध्यक्ष पुष्पकमल दाहालका बालसखा दुर्गादत्त भण्डारीलाई हराउँदै एमाले उम्मेदवार गणेशमान गुरुङ विजयी भइसकेका छन् ।
यस्ता छन्, गठबन्धनले हार बेहोर्नुको कारण
स्थानीय तहको निर्वाचनमा पोखराको मेयर एकीकृत समाजवादीका धनराज आचार्यले पाउँदा उपमेयरसहित सबै वडा कांग्रेसले राख्यो । कास्कीको मादी गाउँपालिकाबाहेक अरु पालिकामा गठबन्धन कायमै रहन सकेन ।
मओवादीले मादीका २ वडाबाहेकमा सबैतिर क्षति बेहोरेको थियो । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा भने कास्कीमा कांग्रेस र माओवादीले बराबर सीट पाए । माओवादीले कांग्रेसकै हैसियतमा सीट पाएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता रुष्ट थिए ।
कांग्रेसका उम्मेदवार नै नभएपछि कास्कीका विभिन्न क्षेत्रमा रुखको सट्टामा देशभर घन्टीको लहर चल्दा यसअघि कांग्रेसले रुखमा मत हालेका मतदाताले त्यतै मत हालेको परिणामले देखायो । मतदान स्थलहरुमा पुग्दा यसअघि कांग्रेसलाई भोट हाल्ने मतदाताको रोजाइ राप्रपाको हलोसमेत भएको देखियो । जहाँ कांग्रेसका उम्मेदवार थिए, त्यहाँ पार्टीभित्रैको अन्तर्घातका कारण चुनाव हारेको नेताहरुको विश्लेषण छ । यसअघि सूर्यमा भोट हालेकाहरुको थोरैमात्र मत घन्टीमा गएर ठूलो जनाधार एमालेमै रहँदा गठबन्धनका दलले क्षति क्षति बेहोर्न पुगेका छन् ।
अर्को प्रमुख कारण भनेको भूगोल, पार्टी र जनमत नहेरी गरिएको उम्मेदवार चयनलाई मान्छन्, कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाट । ‘उम्मेदवार छनोटमा पनि विचार नपु¥याउँदा कास्की जिल्लामा असन्तुष्टिको मत अन्तै पोखियो र त्यसको सहज फाइदा एमालेलाई भयो,’ रानाभाटले भने, ‘कास्कीमा प्राप्त नतिजा अपेक्षाभन्दा बाहिरको हो । पार्टीभित्रैबाट पनि असन्तुष्टिहरु पोखिएको हामीले देख्यौं ।’ दलहरुप्रतिको वितृष्णाका कारण पनि धेरै मत घन्टीतिर गएको र घन्टीमा जाने ठूलो मत कांग्रेसकै भएको सचिव रानाभाटको भनाइ थियो । कास्की कांग्रेसका सभापति हुँदा किशोरदत्त बरालले पछि चुनाव नउठ्ने प्रतिवद्धता नै गरेका थिए । तर, चुनावमा टिकटका लागि उनलै बढी कसरत गरेर ल्याएपछि पूर्व सभापति कृष्ण केसी पाखा लागे । यसकारण पनि कांग्रेसभित्रै केसी समूह असन्तुष्ट थियो भने अर्कोतिर बराल आफैं पनि सो भूगोलमा लोकप्रिय नभएको नेताहरु बताउँथे ।
प्रदेश सभा २ तर्फ पनि कांग्रेस महामन्त्री गगन थापाको जोडबलमा यसअघि वडा सदस्यमै पराजित दीपक माइलाले टिकट पाउँदा असन्तुष्टहरु थिए । २ तर्फ हँसिया हथौडामा भोट हाल्नुभन्दा यसअघि कांग्रेसमा भोट हालेकाहरुले ४० देखिका उम्मेदवार एमालेका खगराज अधिकारी, लौरो, राप्रपामा मत हालेको मत परिणामले देखाएको छ ।
कास्की–२ मा संघीय र प्रदेश सभा ‘क’ दुबैतिर नेपाली कांग्रेसका उम्मेदवार थिएनन् । एमालेको बलियो प्रभाव रहेको यो क्षेत्रमा एकीकृत समाजवादीका श्रीनाथ बराल र एमालेकी विद्या भट्टराईलाई मुख्य प्रतिस्पर्धी मानिएको थियो । विद्याले चुनाव जित्दा तर, गठबन्धनभन्दा पनि अगाडि घन्टीका माधवप्रसाद कँडेल आए । गठबन्धन तेस्रो हुँदा राप्रपाले पनि यसअघिभन्दा ४ गुणा मत बढायो ।
यो क्षेत्रमा कांग्रेसको आफ्नो उम्मेदवार नहुँदा ठूलो मत घन्टी र हलोमा गएको देखिन्छ । सहरी क्षेत्रबाट यसअघि सूर्यलाई भोट हाल्नेको केही मत एमालेलाई गए पनि एमालेको प्रभाव क्षेत्रबाट ठूलो मत विद्या भट्टराईको पक्षमा आयो । गठबन्धन एकजुट भएर सबै जनमत कायम राखेको भएमात्र श्रीनाथ आउन सक्थे । तर, त्यसो हुने सम्भावना नै रहेन । कास्की–२ (२) मा भने यसपटक पनि चौतर्फी दबाब र अप्ठेरो परिस्थितिका बाबजुद विन्दुकुमारले नै जित निकाल्न सफल भए । यो क्षेत्र एमालेले पनि सहजै हार्न सक्ने सम्भावना भएको क्षेत्रमा राखेको थियो ।
कास्की–३ प्रतिनिधि सभामा सुरुदेखि नै नेपाली कांग्रेसले नै पाउनुपर्ने नेताहरुको अडान थियो । तर, कास्की–३ माओवादीको भागमा पर्दा कांग्रेसबाट उम्मेदवारका आकांक्षीले आफ्नो राजनीतिक भविष्य नै छेकिएको महसुस गरेका थिए । त्यसमाथि यो क्षेत्रमा अर्थमन्त्री हुँदा कर बढाएको भन्दै आलोचना खेपेका रामजी बरालले टिकट पाएपछि ठूलो चुनौतिमा थिए । त्यसमाथि माओवादीभित्रै पनि ठूलो असन्तुष्टि थियो । सहिद परिवारकी अनिता भूर्तेलले त बागी उम्मेदवारी नै दिएकी छन् । तर, यसअघि कांग्रेसमा मत हाल्ने र कांग्रेसभित्रै असन्तुष्ट समूहको ठूलो हिस्सा घन्टीका उम्मेदवार योगराज पौडेललाई जाँदा एमालेका उम्मेदवार दामोदर बैरागीलाई फाइदा पुग्यो ।
कास्की–३ को प्रदेश सभामा पनि कांग्रेस र माओवादीभित्र ठूलो विवाद थियो । कास्की–३ (१) का दुर्गादत्त भण्डारीलाई प्रदेश सभा २ मा टिकट दिँदा माओवादीभित्रैका ७२ जनाले त त्यो बेलै राजीनामा बुझाएका थिए । त्यसमाथि सो क्षेत्रमा नभिजेका भण्डारीलाई प्रचण्डकै जोडबलमा टिकट दिँदा कांग्रेस र माओवादीभित्रको फाइदा उठाउँदै जनता समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका सो क्षेत्रमा प्रभावशाली मानिएका गणेशमान गुरुङले ठूलो मतान्तरले चुनाव जिते ।
कास्की–२ (२) तर्फ कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माका प्रिय पात्र मानिने प्रकाश बराललाई कांग्रेसले टिकट दियो । जिल्ला खेलकुद विकास समितिबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका प्रकाशका निम्ति एमालेबाट यसअघि नै चुनाव जितिसकेका राजीव पहारीको चुनौति थियो । तर, सांसद हुँदा कहिले विवाद त कहिले फण्डा गरेर चर्चामा आउने गरेका राजीवका निम्ति पनि पहिलो पटक चुनाव लडेका प्रकाश ठूलो चुनौति बने । स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीलाई हराउन लागेको आरोपले समेत राजीवको आलोचना हुने गर्दा पहिलो पटक चुनाव उठेका प्रकाशका निम्ति भने फाइदै पुगेको छ ।
कास्कीमा क्षति बेहोर्नुका पछि गठबन्धनले अनुशासन तोड्नेदेखि घन्टी लहरसम्म भएको स्वीकार्छन्, कास्की–२ का उम्मेदवार श्रीनाथ बराल । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ले गठबन्धनका दलहरुको इमान्दारितामाथि प्रश्न उठेको बताए । ‘उम्मेदवारको छनोटमा पनि ध्यान कम भयो । सांगठनिक आधारलाई केन्द्रित गर्न सकेको भए, हुन्थ्यो तर त्यस्तो भएन । कांग्रेसको ठूलो संगठनको भरले मात्र चुनाव जित्न सकिन्थ्यो तर घन्टी, राप्रपाजस्ता दलले एमालेको भन्दा धेरै मत कांग्रेस र गठबन्धन दलको काटेको छ,’ करणले भने ।
प्रकाशित मिति २०७९ मंसिर ९ गते शुक्रबार ०१:१२




