२०८३ साउन २१ गते बिहीबार

आज विवाह पञ्चमी पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

आज विवाह पञ्चमी पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १२ गते सोमबार १२:००

जनकपुर विवाह पञ्चमी पर्व देशभर आज मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल...

जनकपुर

विवाह पञ्चमी पर्व देशभर आज मनाइँदै छ । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइन्छ । त्रेता युगमा आज अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउने गरिएको हो ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक विश्वास छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा राज्यका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

यो महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले पाँच दिनसम्म मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यतासमेत छ ।
यस्तैरामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताए । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि तीन दिनका लागि बिदा दिइएको छ ।

सीताराम विवाह पञ्चमी महोत्सवमा आउने तीर्थयात्रीको बास तथा भिडलाई ध्यानमा राखेर विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।

प्रकाशित मिति २०७९ मंसिर १२ गते सोमबार १२:००
हजुरको प्रतिक्रिया