२०८३ असोज २३ गते शुक्रबार

आहा ! रारा गोल्डकपको नाम फेरियो, अब आहा ! रारा पोखरा गोल्डकप

आहा ! रारा गोल्डकपको नाम फेरियो, अब आहा ! रारा पोखरा गोल्डकप

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १३ गते मंगलबार १२:३६

सम्झौताअनुसार प्रायोजक संस्थाले पहिलो ३ वर्ष १८ लाख, दोस्रो ३ वर्ष २१ लाख, तेस्रो ३ वर्ष २४ लाख र ०८८ सालको गोल्डकपमा २७ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

प्रायोजक हिमश्रीसँग थप १० वर्षे सम्झौता

पोखरा
मोफसलकै चर्चित राष्ट्रियस्तरको आहारारा गोल्डकपको आउँदो संस्करणदेखि नाम फेरिने भएको छ । आगामी पुस १२ गतेदेखि सुरु हुने २२ औं संस्करणदेखि गोल्डकप अबदेखि ‘आहा ! रारा पोखरा गोल्डकप’ हुने आयोजक सहारा क्लबले जानकारी दिएको हो ।

आयोजक सहारा क्लबले मंगलबार पोखरामा मुख्य प्रायोजक रहेको हिमश्री फुड्ससँग १० वर्ष सम्झौता बढाउँदै नाम परिवर्तन गरेको जानकारी दिएको हो । योसँगै सहाराले गोल्डकपको नाम ३ पटक परिवर्तन गरेको छ । सहारा क्बलले २०५८ मा पहिलोपटक क्याराभान कप नामबाट प्रतियोगिता सुरु गरेको थियो । जसमा हिमश्री फ्ड्स सहप्रायोजकका रुपमा थियो । ०५९ देखि १० वर्षका लागि सम्झौता गरी व्यापारिक घराना हिमश्रीकै उत्पादन आहा चाउचाउको नामबाट आहा ! गोल्डकपमा परिणत भएको थियो ।

पहिलो चरणको सम्झौता अन्त्य भएपछि ०६९ देखि आहा ! गोल्डकप आहा ! रारा गोल्डकपमा परिवर्तन भएको थियो । त्यसको पनि सम्झौता सकिएपछि आहा ! रारा गोल्डकप आहा ! रारा पोखरा गोल्डकपमा परिवर्तन गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । ‘यसअघिका २१ औं संस्करण मोफसलकै सफल र चर्चित प्रतियोगितामा रुपमा क्लबले सफलता हासिल गरिसकेको छ,’ महासचिव अधिकारीले भने, ‘आगामी संस्करणदेखि पर्यटकीय सहर पोखरालाई पनि अपनत्व ग्रहण गरी ०८८ सालसम्म आहा ! रारा गोल्डकपका रुपमा सञ्चालन गर्ने गरी नाम नामाकरण गरेका छौं ।’

मंगलबारकै पत्रकार सम्मेलनमा आयोजक सहारा क्लब र मुख्य प्रायोजकसमेत रहेको हिमश्री फुड्सले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रायोजक संस्थाले पहिलो ३ वर्ष १८ लाख, दोस्रो ३ वर्ष २१ लाख, तेस्रो ३ वर्ष २४ लाख र ०८८ सालको गोल्डकपमा २७ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

त्यस्तै, व्यवस्थापन खर्चका लागि अतिरिक्त पहिलो ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र ०८८ सालमा ७ लाख रुपैयाँ प्रदान गर्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा गोल्डकपमा मुख्य प्रायोजक हिमश्री फुड्सका प्रकाश केसीले आफूहरुले सहारा क्लबलाई राजनीतिक हिसाबले भन्दा पनि खेलकुद विकासकै लागि सहयोग गरिरहेको बताए । उनले भने, ‘यो हाम्रो बाबा सुर्यबहादुर केसीले चाहेको र सोचेको सपना पूरा गर्नलाई पनि हो । उहाँको सम्झनामा खेलकुद विकासका लागि सहयोग गर्न पाउँदा हामी पनि खुसी छौं ।’

हिमश्री फुड्सका संस्थापक स्व. सुर्यबहादुर केसी हुन् । पोखराका पूर्वप्रधानपञ्चसमेत रहेका केसी राप्रपाबाट पहिलो संविधानसभा सदस्य थिए । अघिल्लो प्रतिनिधि सभामा नेपाली कांग्रेसमा प्रवेश गरेसँगै समानुपातिकबाट सांसद बनेका थिए । उनको ०७७ कात्तिक १७ गते मृत्यु भएको थियो ।

स्व. केसीको सम्झमा हिमश्रीले सहारा क्लबले सञ्चालन गर्दै आएको सहारा एक्याडेमीलाई पनि १० वर्षसम्म वार्षिक १५ लाख रुपैयाँ सहयोग गर्ने गरी २ वर्षअघि सम्झौता गरेको छ ।

प्रकाशित मिति २०७९ मंसिर १३ गते मंगलबार १२:३६
हजुरको प्रतिक्रिया