२०८३ साउन २१ गते बिहीबार

कर्मचारीले तलब नपाउँदा पद्म नर्सिङ क्याम्पसमा पठनपाठन ठप्प, छात्राहरुको भविष्य अन्योलमा

कर्मचारीले तलब नपाउँदा पद्म नर्सिङ क्याम्पसमा पठनपाठन ठप्प, छात्राहरुको भविष्य अन्योलमा

दुर्गा रानामगर

@Public 4K Tv

२०७९ मंसिर १३ गते मंगलबार ०७:५७

उनले भनिन्, ‘ऋण लिएर बाबाआमाले नर्सिङमा भर्ना गराउनुभयो, अब पढाई नै भएको छैन भनि कसरी भनुँ ?’ 

पोखरा

नर्सिङ क्याम्पस पढ्न पुगेका विद्यार्थी कक्षाकोठामा ह्यूमन एनाटोमी लगायतको गम्भीर विषयमा पढिरहेको भेटिनुपर्ने हो तर पोखराको नर्सिङ क्याम्पस ‘पद्म नर्सिङ होम स्कुल अफ नर्सिङ क्याम्पस’मा भने विद्यार्थीको कक्षाकोठामा ताला लागेका छन् । विद्यार्थी क्याम्पस बाहिर चिन्तित अवस्थामा भेटिन्छन् । पिसिएल तेस्रो वर्षमा अध्ययन गरेका ३० जना विद्यार्थीको पढाई ४ महिनादेखि भएको छैन । नर्स बन्ने सपना लिएर अध्ययन गर्न क्याम्पस पुगेका छात्रा यतिबेला अन्योलमा छन् । उनीहरु प्रश्न गर्दैछन्, ‘अब हाम्रो भविष्य के हुन्छ ?’ ।

पद्म नर्सिङ अस्पताल र उसको मातहतमा रहेको नर्सिङ क्याम्पसबीचको विवादले गर्दा भाद्रदेखि नियमित पढाइ हुन सकेको छैन । एक छात्राले भनिन्, ‘अन्तिम परीक्षा आउन लागिसकेको छ । परीक्षामा के लेख्ने ? पढाई नै नभइकन हामीले कसरी बिरामीको जाँच गर्छौ । यसले हाम्रो भविष्य मात्र होइन भोली आम मानिसको स्वास्थ्यको भविष्य प्रति पनि लापर्बाही भएको छ ।’  उनले भनेको जस्तै तेस्रो वर्षको परीक्षा पुसमा हो तर अहिलेसम्म उनीहरुले नियमित कक्षा लिन पाएका छैनन् ।

क्याम्पसमा पिसिएल कार्यक्रमको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीले यस वर्षको वार्षिक शुल्क १ लाख ४५ हजार पहिल्यै बुझाइसकेका छन् । तर अन्तिम परीक्षा आउने समय सम्म पनि पढाइ नियमित नहुँदा क्याम्पसमा अध्ययनरत छात्राहरु आफ्नो भविष्यप्रति चिन्तित हुन थालेका छन् । अर्को एक छात्राले क्याम्पसमा पढाइ नभएको कुरा अभिभावकलाई भन्न नसकेको बताइन् । उनले भनिन्, ‘ऋण लिएर बाबाआमाले नर्सिङमा भर्ना गराउनुभयो, अब पढाई नै भएको छैन भनि कसरी भनुँ ?’

 

कर्मचारी भन्छन् ‘२० महिनाको तलब खै ?’

क्याम्पसमा कार्यरत कर्मचारीहरुले तलब नपाएको भन्दै यतिबेला आन्दोलनरत छन् । त्यहाँ कार्यरत ९ जना शिक्षकसहितका कर्मचारीले तलब नपाएको २० महिना भइसकेको छ । तलब नपाएका कारण नै शिक्षक कर्मचारीले भाद्र महिनादेखि पढाउन ठ्याप्पै बन्द गरेका छन् । वि.सं २०७७ सालदेखि तलब नपाएका उनीहरुलाई प्रशासनले बेलाबेलामा मुखमा बुझो लगाउनका लागि भएपनि थोरै पैसा दिएको उनीहरु बताउँछन् तर नियमित तलब नपाएको भने २० महिना कटिसकेको छ । कर्मचारी ‘एक’ (नाम खुलाउन नचाहेको) ले भनिन्, ‘घरभाडा दिनुप¥यो, छोराछोरीलाई पढाउनुप¥यो, अहिले एकदमै सहन नसकेपछि भदौदेखि भने हामी तलब नआएसम्म पढाउदैनौ भनेर लाग्यौं ।’

क्याम्पसमा कार्यरतले ‘दुई’ले तलब नपाएका कारण घर खर्च धान्न गाह्रो भएको बताए । उनले भने, ‘डेढ लाख त घरभाडा मात्र दिनुपर्ने भइसक्यो, घरबेटीले पुलिस नै बोलाएर लखेट्छु भने सम्झाएर राखेका छौ, खाने खर्च, औषधी गर्न पैसा सकिसकेको छ । त्यति हुँदा पनि आफूले काम गरेको पैसा पाइएन ।’  कर्मचारीका अनुसार क्याम्पसका निर्देशक र प्रशासनसंग पटक–पटक बैठक बसेको छ तर तलब दिने आश्वासन मात्र पाइने गरेको छ ।  उनीहरुले तलब पाएको भोलिपल्ट नै आफूहरु पढाउन थाल्ने बताए ।

कर्मचारी ‘तीन’ले तलब नदिने तर विद्यार्थीलाई पढाउन प्रशासनले दबाव दिइरहँदा आफूहरुले मानसिक रुपमा यातना भोग्नुपरेको बताईन् । उनले श्रम शोषण भएको बताउँदै प्रशासनले एक पटक तलब भनेर दिएको चेक समेत बाउन्स भएको बताइन् । प्रशासनले कुरा नसुनेपछि भने आफूहरु श्रम कार्यलयमा गएर निवेदन दिएको पनि सुनाइन् ।

क्याम्पसका प्रिन्सिपल इन्दु थापाले पद्म नर्सिङ होम र नर्सिङ क्याम्पसबीच भइरहेको आर्थिक लेनदेनको विवादले गर्दा यस्तो अवस्था आएको बताइन् । उनले नर्सिङ क्याम्पस अहिले आर्थिक संकटमा परेको बखत यसको मातृ संस्थाको रुपमा रहेको पद्म नर्सिङ होमले जिम्मेवारी लिनुपर्ने तर त्यहाँबाट सहयोग नमिलेको सुनाइन् । विवादले गर्दा क्याम्पसले पिसिएल नर्सिङमा अहिले भर्ना लिन पाएको छैन, जसले पद्म नर्सिङ क्याम्पसको पहिलो र दोस्रो वर्षमा विद्यार्थी नै छैनन् । क्याम्पसका निर्देशक रोषबहादुर गुरुङ यतिबेला नेपाल बाहिर छन् । उनले आफू एक हप्तामा आएर छलफल गर्ने बताएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।

अन्तिम परीक्षा अगावै प्रयोगात्मक नम्बर पठाउनुपर्ने अन्तिम मिति मंसिर ११ गते थियो । प्रयोगात्मक नम्बर नपठाए परीक्षामा सहभागि हुन नपाउने थियो । प्रयोगात्मक नम्बर पठाउने क्याम्पसको तयारी नदेखेपछि भने विद्यार्थीहरुले प्रशासनमा दबाव दिएका थिए । यस विषयमा अनेरास्ववियु जिल्ला कमिटि कास्कीले समेत ध्यानाकर्षण गर्दै  क्याम्पसमा तालाबन्दी ग¥यो । तर शिक्षकहरुको अडान थियो, ‘पहिले तलब अनि बल्ल नम्बर’ । निर्देशक गुरुङ नेपाल बाहिर नै भएकाले प्रिन्सिपलले कर्मचारीलाई आश्वासन दिइरहेकी थिइन् तर दिउँसो सम्म पनि शिक्षकहरुले अडान नछाडेपछि भने प्रिन्सिपल आफैले छात्राहरुको प्रयोगात्मक नम्बर हालेर पठाइन् । अहिलेलाई छात्राहरुले अन्तिम परीक्षा दिन पाउने भएतापनि कोर्स नसकिएको हुँदा उनीहरु परीक्षाको मानसिक दबावमा छन् ।

सञ्चालकको विवादले अल्झियोे छात्राहरुको नर्स बन्ने सपना 

२७ वर्षदेखि पोखराको न्यूरोडमा पद्मा नर्सिङ होम सञ्चालन रहेको थियो ।  शेयर सञ्चालकहरुको आन्तरिक विवादले गर्दा पोखराको न्यूरोडबाट पद्मा र्निर्सङ होम नदिपुरमा सरेको थियो । नदिपुरमा सरेको अस्पतालले गत बैशाखदेखि नै अस्पताल सुचारु गरिसकेको छ । यता विवादपछि त्यहि रहेका डाक्टरहरुले भने सो ठाउँमा नयाँ नाम पद्म श्री अस्पताल दिएर चलाइरहेका छन् ।

यता नर्सिङ कलेज चलाउनका लागि मेडिकल काउन्सिलको नियमअनुसार १ सय शैया हुनुपर्ने मापढण्ड छ तर हालसम्म नदिपुरमा सञ्चालनमा आएको अस्पतालमा भने ५० शैयाको मात्र छ । जसले गर्दा क्याम्पस सञ्चालन र विद्यार्थी भर्ना दुई वर्षदेखि हुन सकेको छैन । क्याम्पसले हालसम्म अस्पतालमा विद्यार्थीको प्रयोगात्मक गरेबापत वार्षिक १० लाख रुपैयाँ बुझाउदै आएको थियो । अहिले आर्थिक संकट हुँदा भने अस्पतालले आफ्नो मातहतमा रहेको क्याम्पसलाई व्यवस्थापन गर्न नसकेको प्रिन्सिपल थापाले सुनाइन् ।

अस्पतालका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले कर्मचारीले तलब नपाएको कुरा कात्तिकबाट मात्र आफूले थाहा पाएको बताए । उनले जहिले देखि थाहा पायौं त्यस समयदेखि मात्र तलब दिने बताए । बास्तोलाले क्याम्पसले आफ्नो आम्दानी र खर्च अस्पताललाई लामो समयदेखि नबुझाएको दाबी गर्दै यसबारेमा निर्देशक आएपछि छलफलमा जुट्ने बताए ।  क्याम्पसको आम्दानी व्यक्तिगत खातामा राखेको उनले आरोप लगाए । विद्यार्थीको पढाइ रोकिएको विषयमा भने उनले आफूले बारम्बर शिक्षकहरुलाई विद्यार्थीको पढाइ नरोक्न अनुरोध गरेको सुनाए ।

‘हामी गम्भीर छौं, उहाँहरुले तलब पाउनुहुन्छ’ : श्रम कार्यालय, पोखरा

श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले यस विषयमा गम्भीर रुपमा लिइएको बताए । उनले निवेदन आउने बित्तिकै क्याम्पसका सञ्चालकसंग कुराकानी गरेको र आवश्यक छलफल अघि बढेको पनि जानकारी दिए ।

उनले भने, ‘कर्मचारीले तलब जसरी पनि पाउँछन्, यदि पाएनन् भने श्रम कार्यलयले आवश्यक कारबाही गर्छ ।’

प्रकाशित मिति २०७९ मंसिर १३ गते मंगलबार ०७:५७

हजुरको प्रतिक्रिया