पोखरा
सुष्मा (नाम परिवर्तन) का श्रीमान् विदेशबाट फर्किए तर साथमा एच.आई.भीको भाइरस पनि बोकेर ल्याए । श्रीमान्बाट सुष्मालाई र त्यसपछि जन्मिएका उनका दुवै बच्चालाई पनि संक्रमण भयो । एच.आई.भीले श्रीमानको मृत्यु भएपछि आफ्नो बच्चाको सहारा सुष्मा एक्ली बनिन् । सुष्माका दुवै बच्चा अहिले विद्यालय जान्छन् । तर आफ्ना बच्चाको बारेमा विद्यालयमा थाहा होला, बच्चाले पढ्न पाउलान् नपाउलान् भन्ने डरले उनको मन पिरोलिरहन्छ । उनी आफ्नो घर समाजमा आफू एच.आई.भी संक्रमित हो भनि खुल्न सकेकी छैनन् ।
एच.आई.भी संक्रमित हुनुको पीडा त छ नै त्यसमा आफू सँगै आफ्ना बालबालिकाले समाजबाट अपहेलित हुनुपर्ने डरले अधिकांश संक्रमित अभिभावक आक्रन्त छन् । कास्कीमा एच.आई.भी संक्रमित बालबालिकाका लागि काम गरिरहेको नवजिवन परियोजनाकी मौसम गुरुङले एच.आई.भी संक्रमित बालबालिका हरेक दृष्टिकोणले जोखिममा रहेको बताइन् । उनले समाजमा संक्रमितलाई हेर्ने दृष्टिकोेण सामान्य हुन नसकेका कारण बालबालिकामाथि त्यसकोे मनोवैज्ञानिक असर अझ गहिरो रुपमा पर्ने बताइन् । बालबालिका शिक्षाबाट वन्चित हुनुहुँदैन भन्ने गरिएतापनि एच.आई.भी संक्रमित बालबालिका बारे विद्यालयमा थाहा हुँदा अनावश्यक दुःख दिने गरेको गुरुङले सुनाइन् । उनले भनिन, ‘विद्यालयमा सजिलो हुन्छ भनेर संक्रमण बारे जानकारी गराउँछौ तर झन् बच्चालाई दुःख दिने काम गरिन्छ । अझै पनि विद्यालय होस् अथवा समाजमा, संक्रमित बालबालिकाका लागि स्वस्थ वातावरण बन्न सकेन ।’
संक्रमित आमाबाट बच्चामा सर्ने दर घट्दो तर अझै रोकिएन
नेपालमा एच.आई.भी संक्रमितको सङ्ख्या अनुमानित ३० हजार रहेको छ । हरेक दिन नेपालमा २ जना मानिसहरु एच.आई.भी संक्रमित हुने गरेको तथ्य छ । गण्डकी प्रदेशमा ३ हजार ६२३ जना एच.आई.भी संक्रमित रहेको अनुमान छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको २०७८÷७९ को तथ्यांक अनुसार नेपालमा १४ वर्ष मुनिका एच.आई.भी संक्रमित बालबालिका १ हजार १८३ जना छन् । जसमा गण्डकी प्रदेशमा ११२ बालबालिका रहेका छन् । यता स्वास्थ्य विभागको २०७७-०७८ को तथ्यांकले १ हजार १६९, २०७६-२०७७ मा १ हजार २६८, २०७५-२०७६ १ हजार २९६ र २०७४-२०७५ मा १ हजार १९३ जना १४ वर्ष मुनिका बालबालिका संक्रमित रहेको देखाँउछ । सन् २०२१ मा नेपालमा १४ वर्ष मुनिका ४५ नयाँ बच्चाहरुमा संक्रमण भएको अनुमान थियो । जबकी सन् २०१० मा २१३ बच्चामा संक्रमण भएको अनुमान थियो । हाल यो ७९ प्रतिशतको दरले घटेको छ ।
संक्रमित आमाबाबुको माध्यमबाट नै बच्चामा एच.आई.भी सर्छ । अहिले एच.आई.भीको संक्रमण थाहा हुने आमाले बेलैमा यसको उपचार गर्ने र औषधी लिने हो भने बच्चामा एच.आई.भी सर्दैन । तर कतियपय अभिभावकलाई बच्चा जन्मिसकेपछि मात्र एच.आई.भी बारे थाहा हुँदा बच्चालाई पनि सर्ने गरेको छ । २०७७ को पुस देखि २०७९ को असार महिना सम्म १११ गर्भवती महिला एच.आई.भी पोजिटिभ भए । यस्तै एन्टीरेट्रोभाइरल थेरापी (एआरटी) गराइरहेका २९२ संक्रमित महिला गर्भवती भए । जसबाट जन्मिएका २३४ बच्चाले प्रोफाईल्याक्सिस उपचार प्राप्त गरे । यसले बच्चामा भाइरसको जोखिमलाई कम गर्छ । आमाबाट बच्चामा संक्रमण हुन नदिनका लागि सरकारले कार्यक्रम ल्याएको छ तर पनि जनचेतना नपुग्दा संक्रमण दर भने घट्न नसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका सुचना अधिकारी लक्ष्मण बस्यौलाले बताए । उनले १८ वर्ष मुनिका संक्रमित बालबालिकाका लक्षित गर्दै गण्डकी प्रदेशका सबै जिल्लामा सामाजिक संरक्षण अनुदान कार्यक्रम अन्तरगत सेभ द चिल्ड्रेन ग्लोबल फण्डको श्रोत र साझेदार संस्थाबाट मासिक १ हजार रुपैयाँ भत्ता दिइने गरेको जानकारी दिए ।
किशोरअवस्थामा अभिभावकलाई दिन्छन् दोष
एच.आई.भी संक्रमित महिलाहरुको सञ्जाल वुमन फोरमकी प्रमुख मना शेरचनले संक्रमित बालबालिकाले किशोरअवस्थामा पुगेपछि आफ्ना आमाबाबालाई दोष दिन सुरु गर्ने बताइन् । उनले एच.आई.भी एड्स बारे बुझ्दै गएपछि किशोरअवस्थामा मानसिक रुपमा बलियो भइ नसक्दा आफूहरु निर्दोष र बाआमा दोषी हुने किसिमको व्यवहार देखाउने गरेको सुनाइन् । यसका लागि संक्रमितहरुको युवा समूह नै गठन गरेर काउन्सिलङ छलफल गरिरहेको शेरचनले जानकारी दिइन् । उनले समुदायबाट अहिले पनि भेदभाव र लाञ्छना कायम रहेकाले संक्रमितहरु खुलेर आउन नसक्ने जिकिर गरिन् ।
पश्चिम क्षेत्रीय एच.आई.भी तथा एड्स सञ्जालका सचिव तथा कम्युनिटी सपोर्ट ग्रुप, पोखराका निर्देशक दिलिप गुरुङले संक्रमित बालबालिकाप्रति संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औल्याए । एच.आई.भी एड्सबारे समाजमा रहेको भ्रमलाई सचेतनामुलक कार्यक्रमबाट हटाउनुपर्ने बताउदैँ उनले तब मात्र बालबालिकामैत्री सामाजिक वातावरण बन्न सक्ने बताए ।
लाञ्छनाको डरले अवस्था लुकाउन बाध्य संक्रमित
एच.आई.भी तथा एड्स महासंघ नेपाल, गण्डकी प्रदेशका शान्त रानाले शिक्षित र यसबारेमा बुझेकाहरुबाटै संक्रमितलाई लाञ्छना हुने गरेको बताए । उनले संक्रमित भएको थाहा दिदाँ भेदभावमा पर्ने डरले संक्रमित आफ्नो अवस्था लुकाउन बाध्य हुने गरेको जिकिर गरे । स्वास्थ्य संस्थामा जाँदा समेत डाक्टर तथा नर्सबाट नै भेदभाव सहनुपरेको उनले सुनाए । उनले भने, ‘बरु आफ्नो पहिचान लुकाएर स्वास्थ्य जाँच गर्दा थाहा पनि हुँदैन तर आफ्नो अवस्था बारे जानकारी दिदाँ हामीले उल्टै भेदभाव सहनुपर्छ ।’
एच.आई.भी संक्रमित बालबालिकाकोे क्षेत्रमा काम गरिरहेका मोहन त्रिपाठीले सामाजिक रुपमा संक्रमित स्वतन्त्र रुपमा बाँच्ने वातावरण नभएसम्म अवस्था नसध्रने बताए । सामाजिक रुपमा १० वर्षअघि र अहिले संक्रमितप्रतिको बुझाई उस्तै रहेको बताए । अहिले पनि समाजमा संक्रमितका रुपमा बाहिर आउँदा भेदभाव र लाञ्छना कायमै रहेको सुनाए । उनले भने, ‘कोभिड भाइरस सुरुमा लाग्दा सबै डराए तर पछि कोभिड भएको मान्छे प्रतिको व्यवहार सामान्य बन्दै गयो, त्यसरी नै एच.आई.भी संक्रमितका लागि सामान्य बन्दै जानु जरुरी छ । तर अहिलेसम्म त्यो हुन सकेको छैन ।’
यता एचआईभी संक्रमित पोखराका गोपाल श्रेष्ठले वि.सं २०७६ जेठ ८ मा सगरमाथाको सफल आरोहण गरे । उनले एच.आई.भी एड्स सक्रमण बारे समुदायमा सकरात्मक सन्देश फैलाउन र संक्रमितका लागि उत्प्रेरणा दिन सगरमाथा आरोहण गरेको बताए । संक्रमितका ठूलो बल उसको परिवार र उ बसेको समाज रहेको बताउँदै उनले समाजमा संक्रमितप्रतिको भेदभाव अन्त्य भएमात्र एड्सको अन्त्य हुने सुनाए । श्रेष्ठले हिजो भन्दा आज अवस्था सुध्रदै गएपनि अझै जसका लागि हुनपर्ने त्यहाँ सम्म नपुगेको गुनासो गरे ।
लक्षय ९५ः९५ः९५
हरेक वर्ष डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाइन्छ । यस वर्षको नारामा ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने रहेको छ । दिगो विकास लक्ष्य अन्तरगत सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्नका निम्ति ९५ः९५ः९५ अवस्था हासिल गर्नुपर्ने भनिएको छ । जसमा ९५ प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो अवस्थाबारे थाहा पाउने, ९५ प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खाने मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने भन्ने लक्ष्य लिएको छ ।
नेपालमा लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय एचआईभी रणनीतिक योजना (२०२१ २०२६) ल्याइएको छ । हाल नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रिकृत महामारीको रुपमा परिभाषित गरिएको छ । नेपालमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी (पुरुष र महिला दुवै), पारलैङ्गिक समुदाय, रोजगारीका लागि विदेशीनेहरु एच.आई.भी सक्रमणको उच्च जोखिममा रहेका छन् ।
प्रकाशित मिति २०७९ मंसिर १५ गते बिहीबार ०९:३५




