२०८३ साउन २१ गते बिहीबार

स्थानीय तहमा हारेकालाई संसद फाप्यो !

स्थानीय तहमा हारेकालाई संसद फाप्यो !

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ मंसिर १६ गते शुक्रबार ०६:०२

स्थानीय तह निर्वाचनमा वडामै नपत्याइएका थुप्रै अनुहार यसपटकदेखि संसदीय यात्रा सुरू गरेका छन् ।

पोखरा
गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नम्डु गुरुङ २७ मतान्तरले वडाध्यक्षमा पराजित भए । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेको उनी नेकपा एमालेका छिरिङ धिण्डु गुरुङसँग पराजय भोग्नुप¥यो ।

वडामा पराजय भोगेका उनै नम्डुले मुस्ताङ ‘क’ प्रदेश सभाको टिकट हात पारेर निर्वाचित भएका छन् । मंसिर ४ मा भएको निर्वाचनमार्फत मुस्ताङका मतदाताले उनलाई प्रदेश सभामा प्रतिनिधित्व गर्न अनुमोदन गरेका छन् ।

स्थानीय निर्वाचनमा वडामै नपत्याइएका नम्डुले गण्डकी प्रदेश सभामा दोहोरिने दाउमा रहेका नेकपा एमालेका इन्द्रधारा विष्टलाई ब्रेक लगाइदिए । गुरुङ र बिष्टबीच २५५ मतान्तर छ । विष्टले ७९३ मत पाउँदा वडामा पराजित गुरुङले १ हजार ८४ मत ल्याएर संसदीय यात्रा सुरु गरेका हुन् ।

म्याग्दी ‘ख’ बाट निर्वाचित रेशमबहादुर जुग्जाली ‘सुविन’ पनि स्थानीय निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षमा पराजित भएका हुन् । मालिकाको गाउँपालिका अध्यक्षमा एमालेका वेगप्रसाद गर्बुजा विजयी हुँदा जुग्जाली तेस्रो भएका थिए । कांग्रेसका श्रीप्रसाद रोकामगर दोस्रो स्थानमा थिए ।

तेस्रो भएका माओवादीका जुग्जालीले पाँच दलीय गठबन्धनको आडमा प्रदेश सभा निर्वाचनमा सफलता हात पारेका छन् । नेकपा एमालेका यामबहादुर गर्बुजालाई १०१ मतान्तरले पराजित गर्दैै उनी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । गर्बुजाले ९ हजार ३५३ र जुग्जालीले ९ हजार ४५४ मत पाए ।

म्याग्दी ‘क’ मा निर्वाचित माओवादीकै हरि भण्डारी पनि २०७४ सालको स्थानीय तहमा पराजित भएका थिए । रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी कमला गर्बुजासँग पराजित भएका उनी एमालेका देवेन्द्रबहादुर कटुवाल क्षेत्रीलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका छन् ।

भण्डारीले १२ हजार ७४० मत ल्याएर निर्वाचित हुँदा कटुवालले ११ हजार ७६५ मत ल्याएर पराजित भए ।

पर्वत ‘ख’ मा नेकपा एमालेका मित्रलाल बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका छन् । मित्रलालले १४ हजार १३२ मत प्राप्त गरेर निर्वाचित हुदाँ उनका निकटतम् प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनकातर्फबाट उम्मेदवार बनेका तिवारीले १२ हजार २१० मत पाए ।

१ हजार ९२२ मतान्तरले प्रदेश सभा छिर्न सफल बस्याल २०७४ सालको स्थानीय निर्वाचनमा ९७७ मतले पैंयु गाउँपालिकाको अध्यक्ष हुनबाट बञ्चित भएका थिए । गाउँपालिका अध्यक्ष नफापे पनि उनलाई प्रदेश सभा निर्वाचन भने फापेको छ । पाँच दलीय गठबन्धनविरुद्ध एक्लै मैदान उत्रिएको एमालेका उम्मेदवार बस्यालले जित निकाल्दै संसदीय यात्रामा सफल ठहरिए ।

लमजुङ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका भेषबहादुर पौडेल पनि २०७४ को निर्वाचनमा बेसीशहर नगरपालिकाको मेयरमा पराजित भएका उम्मेदवार हुन् । एमालेका गुमानसिंह अर्यालसँग १ हजार २९७ मतान्तरले पराजित पौडेलले प्रदेश सभामा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७५४ मतान्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् ।

पौडेलको पक्षमा १९ हजार ५५७ र अधिकारीको पक्षमा १८ हजार ८०३ मत खस्यो ।

नवलपुर २ ‘ख’ मा एमालेबाट निर्वाचित भएका लक्ष्मणबहादुर पाण्डे पनि विनयीत्रिवेणी गाउँपालिकामा कांग्र्रेसका डम्बरबहादुर जिसीसँग पराजित भएका थिए । २०७४ मा गाउँपालिका अध्यक्षमा पराजित भएका पाण्डेले प्रदेश सभा निर्वाचनमा एकीकृत समाजवादीका गोपालप्रसाद खनाललाई पराजित गरे ।

पाण्डेले १८ हजार ८०६ र खनालले १४ हजार ७६१ मत पाए ।

स्याङजा २ ‘ख’ मा एमालेबाट टिकट पाएका बुद्धिमान श्रेष्ठ पनि २०७४ को स्थानीय निर्वाचनमा चापाकोट नगरपालिकामा पराजित भएका थिए । श्रेष्ठ नेपाली कांग्रेसका महेश भट्टराइसँग प्रतिस्पर्धामा छन् । यो क्षेत्रको मतगणना सुरु भएकै छैन ।

यस्तै, कास्की ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका दामोदर पौडेल ‘बैरागी’ २६ मतले वडा सदस्यमा हारेका थिए । जिल्ला समन्वय समितिको प्रमुख बन्ने दाउले २०७४ मा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बाट वडा सदस्य लडेका उनलाई वडाबासीले पत्याएनन् ।

प्रतिनिधि सभामा भने उनले फराकिलो मतान्तरले विजयी भए । बैरागीले २२ हजार ९८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’ ले १७ हजार ५३५ र राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए ।

प्रकाशित मिति २०७९ मंसिर १६ गते शुक्रबार ०६:०२
हजुरको प्रतिक्रिया