२०८३ साउन २१ गते बिहीबार

उम्मेदवारीले तंरग, जमानत जफत

उम्मेदवारीले तंरग, जमानत जफत

विनोद ढुंगाना

@Public 4K Tv

२०७९ मंसिर १६ गते शुक्रबार ०६:३३

कास्कीका ८ प्रदेश सभामा ४५ जना उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार प्रदेश सभामा २८ जनाको जमानत जफत भएको छ ।

पोखरा

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति महादेव गुरुङले कास्की २ मा स्वतन्त्र उम्मेदवारी दिएपछि पाँच दलीय गठबन्धनमा तरंग पैदा भयो ।

पर्यटन राज्यमन्त्री समेत भएका गुरुङको उम्मेद्वारी फिर्ता गराउनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य बनाउने अफरसहित फोन गरे । देउवालाई महादेवले जवाफ फर्काए, ‘अगाडि बढिसकें फिर्ता हुन्न ।’ कांग्रेस सभापति समेत रहेका देउवाले पोखरा आएको बेला भेट्न खोज्दा उनले ठाडै अस्विकार गरेर भेट्न चाहेनन् ।

कास्की २ नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । गण्डकीमा समाजवादीको भागबन्डामा परेको एक मात्र प्रतिनिधि सभामा श्रीनाथ बरालले टिकट पाएर चुनावी मैदानमा उत्रिएका थिए । बागी उठेका महादेवको उम्मेदवारीले बराललाई असजिलो हुने निश्चित ठानेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पोखरा आएको बेला उनलाई भेटेर फिर्ता हुन बिन्ती बिसाए ।

र पनि महादेवले टेरेनन् ।

उम्मेदवारी दिएपछि एक अन्र्तवार्तामा महादेवले भनेका थिए, ‘मैले के सोचें भने यो नेतृत्वलाई यसरी तानाशाही बनाएर बस्न दिनुहुँदैन । तानाशाही भयो भनेर राजालाई फाल्ने, अनि शेरबहादुरलाई तानाशाही बन्न दिने ? मैले सहन सकिनँ र जनताकै बीचमा जाने निर्णय गरें ।’

जनताको बीचमा जाने महादेवले अड्डी कसेपछि गठबन्धनका उम्मेदवार श्रीनाथको भोट काटिने र पराजित हुने अड्कालबाजी कास्कीको राजनीतिक वृत्तमा व्यापक हुन्थ्यो । कांग्रेसीहरु भन्थे, ‘महादेवले जित्ने गरेर भोट नल्याएपनि गठबन्धनप्रति असन्तृष्ट कांग्रेसीको भोट उनले पाउछन् ।’

तर, मतपरिणामले पूर्व पर्यटन राज्यमन्त्री गुरुङलाई निकै कमजोर प्रमाणित गरेको छ । गठबन्धनका उम्मेदवार श्रीनाथ बराल पराजित भएपनि गुरुङले आफ्नो जमानत जोगाउने गरेर मत पाएनन् ।

कास्की २ मा ८९ हजार १३८ मतदाता रहेकोमा ४९ हजार ९२० मत खसेको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पूर्वमन्त्री गुरुङले रोजेको पुतली चिह्नमा १ हजार ३४० मत खसेको छ । सदर मत ४७ हजार १५६ को १० प्रतिशत कटाउन गुरुङले नसक्दा जमानत जफत भएको हो ।

कास्की–३ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जिवन’ लाई टाउको दुखाइ बनिन् शहीद पुत्री अनिता भुर्तेल । उम्मेदवारी दर्ताको दिन प्रचण्डले फोन गरेर अन्त कतैं व्यवस्थापन गरौंला भनेर आश्वासन दिएको भुर्तेलले नै बताएकी थिइन् । उनले पनि अटेरी गर्दै जनता माझ आफूलाई परिक्षण गर्ने सुर गरिन् ।

कसिलो गठबन्धन नभएको भन्दै आलोचना भइरहेको बखत अनिताको उम्मेदवारीले पनि सत्तारुढ गठबन्धनलाई हायलकायल बनायो । तर, मतदाताले भने अनितालाई नपत्याएको मतपरिणामले पुष्टि गरेको छ ।

ग्याँस सिलिन्डर चुनाव लिएर उठेकी अनिताको चर्चा भए जस्तो मत पेटिकामा खसेन् । निर्वाचन आयोगले अध्यावधिक गरेको अन्तिम मतपरिणाम अनुसार उनको पक्षमा जम्मा २३८ मत खसेको छ । १ लाख १ हजार ७१५ मतदाता रहेको यो क्षेत्रमा ६१ हजार ४१४ मत खसको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ७१ मा उल्लेख गरिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।’ यस्तै, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा १ सीट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी पनि जफत हुने व्यवस्था छ ।

कास्कीको ३ प्रतिनिधि सभामा ४६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । जसमा जम्मा ९ जनाको मात्रै जमानत जोगिएको निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । ३७ जनाले जमानत जोगाउनलाई सदर मतको १० प्रतिशत मत कटाउन सकेनन् ।

प्रमुख दलसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मात्रै जमानत जोगाउने गरेर मत पाए ।

कास्कीका ८ प्रदेश सभामा ४५ जना उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार प्रदेश सभामा २८ जनाको जमानत जफत भएको छ । प्रदेश सभामा उम्मेदवारी दिएका १७ जनाको १० प्रतिशत मत कटेर जमानत जोगिएको हो ।

प्रमुख दलसँगै प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले पनि सदर मतको १० प्रतिशत कटाएका छन् ।

 

प्रकाशित मिति २०७९ मंसिर १६ गते शुक्रबार ०६:३३
हजुरको प्रतिक्रिया