पोखरा
पोखरामा ७ वर्षपछि प्रदर्शन भइरहेको “बाह्र भैरव नृत्य” आज पोखराको तेर्सापट्टिमा रहेको सरस्वती मन्दिरमा साँझ ५ बजे देखाइदैछ । गत मसिंर १५ देखि सुरु भएको नाचको तेस्रो दिन आज पोखरा तेर्सापट्टिमा प्रदर्शन गर्न लागिएको भैरव साँस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानांगले जानकारी दिए । यसअघि पोखराको भिमसेन टोल र गणेश टोलमा भैरव नाच प्रदर्शन गरिएको थियो ।
पहिला प्रत्येक १२ वर्षमा देखाइने भैरव नाच २०२९ सालपछि ६ वर्षमा देखाउन थालियो । कोभिडका कारण अहिले ७ वर्षपछि प्रदर्शन गरिएको हो । २५० वर्षे लामो इतिहास बोकेको भैरव नाचमा कलाकार मात्रै १०६ जना आवश्यक हुन्छ । १२ जना युवा काल भैरव, महाकाली, ईन्द्रायणी, वाराही, कौमारी, विष्णुवी, व्रम्हायणी, गंगा, गणेश, दागिनी, भूच्चा र कवाङको रुप धारणगरी नाच्ने गर्दछन् । ३० जना गायक, १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा नृत्य कलाकार, १० स्वयमसेवक र व्यवस्थापक २० जना आवश्यक हुन्छ । न्यूनतम् ८० जना कलाकार चाहिन्छ ।

भैरव साँस्कृतिक संरक्षण समिति पोखराको आयोजनामा भइरहेको भैरव नाचमा नेवारी भाषाका भजन र आरतीको गायनमा आधारित कौंशिक, छायाँनट्, मालवा, सारंगा, तोडी, मालश्रीलगायत रागहरु गाइन्छ । नर्तकहरु खरजति ताल, चोक ताल, एक ताल, दामो तालमा नृत्य गर्छन् । मुदृंगा, झ्याली, सहनाइ वादनको माध्यमबाट संगीत सिर्जना गरेर भैरव नाच नचाइन्छ ।
शमस्त्रीय संगीतमा आधारित भैरव नाच करिब ६ घण्टासम्म चल्छ । भक्तपुरका राजा रणजीत मल्लको पालादेखि भैरव नाच सुरु भएको कथन छ ।
प्रकाशित मिति २०७९ मंसिर १७ गते शनिबार ०१:१४




