पोखरा
तनहुँ शुक्लागण्डकी–२ मा रहेको दगाम गाउँ नाम जस्तै ठाउँ पनि कौतुहुल जगाउने किसिमको छ । दगाम गाउँको नाउँबारे आफ्नै इतिहास छ । गाउँमा पहिले दमै समुदाय मात्रै बस्थे, यसकारण दमै गाउँको नाम अपभ्रंश हुँदै दगाम नाउँ रहन गयो । इतिहासले दमै समुदायको गाउँ थियो भनेपनि अहिले गाउँमा मगर समुदायको बाहुल्यता छ । जम्मा २३ घरमध्ये ३ घर मात्र गुरुङको छ भने बाँकी मगर समुदायको छ ।
पोखराबाट तनहुँ कोत्रे र त्यहाँबाट ७ किलोमिटरको कच्चीबाटो गएपछि जम्मा २५ किलोमिटरमा पुगिन्छ दगाम । दगाम गाउँ पुगेपछि देखिने दृश्यले मनमा कौतहुल जगाइदिन्छ भने आँखामा छापिने सुन्दर दृश्यलाई क्यामरामा कैद भएका तस्बीरले न्याय गर्न सक्दैन । दुलेगौडाको शिरानमा रहेको दगाम गाउँ डाँडामा सानो चिटिक्क परेर मिलेर बसेको छ । सानो गाउँ भएपनि त्यहाँबाट देखिने दृश्य विशाल छ । दगाम गाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमालदेखि धौलागिरी, गणेश हिमालसम्मको हिमश्रृंखला एकै लहरमा अवलोकन गर्न सकिन्छ । सुर्योदय र सुर्यास्तको समयमा हिमाल सुनौलो रंगमा खुलेर आउँदा पोखराको बजार झिलिमिलि बत्तीहरुले बल्छ । दगामबाट स्याङ्गजा, बाग्लुङ, गोरखा, धादिङलगायतको पहाडि श्रृंखला र नवलपरासीको देवचुली, चुरे पर्वतको श्रृंखला गरि ९ वटा जिल्लाको दृश्य आँखामा अटाउछ । एकपछि अर्को गरि मिलेर बसेका पहाडका श्रृंखलाहरु सूर्यास्तको प्रकाशमा आफू पनि रङ्गिदै बिलाउँदै जाँदा दगामबाट देखिने मनमोहक दृश्यले मनको ढुकढुकी नै बढाउँछ ।
दगामले ऐतिहासिक रुपमा पनि महत्व बोकेको छ । त्यहाँ रहेको स्थानचोकको डाँडामा दुरच्या थरका मगर राजाले शासन गरेको दरबार थियो भन्ने कथन पनि छ । विहानीमा कोत्रे, दुलेगौडा, दमौली बजारलाई कुहिरोले छल्र्याप्प छोप्दा स्थानचोकको डाँडाबाट सेतो ताल (ह्वाइट लेक)को दृश्य सुन्दर देखिन्छ । त्यहाँ पुग्ने जोकोहीलाई आफू बादल माथि बसेको हो कि जस्तो अनुभुति गराइदिन्छ ।
आन्तरिक पर्यटकका लागि हाल दगाममा सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । दगाम सामुदायिक होमस्टेका नन्द राज थापाले दगाममा पाहुनाका लागि यहाँ उत्पादन भएको मकै, भटमास, मस्याङ, मह, सिम्ले जस्ता अर्गानिक खान्की पस्किने गरेको बताए । दगामको अर्को विशेषता मह उत्पादन हो । गाउँमा प्रत्येक घरमा अहिले मौरी पालन छ । यहाँ उत्पादन रहेकोे मह देशविदेशसम्म पुग्छ । दगाम पुग्नेले त्यहाँको अर्गानिक महको स्वाद लिन पाउँछन् ।
दगाम पुग्दा दगामी बाबाआमाको माया, आतिथ्यता सत्कार बिर्सन सकिदैँन । गाउँमा बच्चाहरु हास्दै आफूसँग खेल्न बोलाउँछन् । दगामका युवा केहीे पढ्न शहर झरेका छन् त केही विदेशिएका छन् । बाबाआमा र बच्चा बाहेक दगामका दुई कुकुर काले र कालीले पनि आउने पाहुनालाई एक्लै छाड्दैन ।
अहिले दगाममा फाट्टफुट्ट रुपमा पर्यटक पुग्ने गरेका छन् । तनहुँमा पर्यटकीय गन्तव्यका रुपमा ढोरबाराही, मानुङकोट, रक गार्डेन, मिर्छुलुङ, बन्दीपुर, तनहुँसुर, आधिमुल बाराही प्रचलित रहेका छन् । यसैमा दगामले पनि आफ्नो पहिचान बनाउँदै खोज्दै छ । सुन्दर दगाम गाउँ पुग्ने होइन त ?

















