२०८३ साउन २१ गते बिहीबार

पोखरेलीले सम्झिए नारायण गोपाल

पोखरेलीले सम्झिए नारायण गोपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०९:४५

‘नारायण गोपालको अगाडि स्वर्गीय राख्नुपर्छजस्तो मलाई लाग्दैन । उनी सबैको मनममा जीवन्त छन्, कैयन पुस्ताहरु माझ अझै जीवन्त रहनेछन्,’ उनले भने, ‘उनी विगत होइनन्, वर्तमान र भविष्य हुन् ।’

पोखरा
स्वरसम्राट नारायण गोपालको ३२ औं पूण्यतिथिको अवसरमा पोखरेलीले उनका गीतमार्फत सम्झिएका छन् । जसको चाँजोपाँजो मिलाएका हुन्, पोखरेली युवा सांस्कृतिक परिवार, अन्नपूर्ण म्युजिक एफएम र पोखरा सांगीतिक कलाकार संघले ।

नारायण गोपालको ३२ औं पूण्यतिथिका अवसरमा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सोमबार गरिएको ‘नारायण गोपाल स्मृति साँझ’मा पोखरेली गायकगायिकाले नारायण गोपाललाई श्रद्धाञ्जली अपर्ण गर्र्दै करिब दर्जन गीत गाए ।

गायक एमडी काफ्लेले ‘मलाई नसोध कहाँ दुख्छ घाउ…’, सन्तोष बस्यालले ‘गल्ती हजार हुन्छन्, होश हराएकोबेला…’, उषा गुरुङले ‘केही मिठो बात गर…’, रजनी ऋदम राईले ‘तिमीलाई म के भनूँ…?’, विनोद बानियाँले ‘मैले पूण्य गरें कि पाप गरें…’, ‘तिम्रोजस्तो मुटु मेरो पनि…’ गाएका थिए ।

त्यसबाहेक युगल रुपमा रामभक्त जोजिजु र इतु जोजिजुले ‘मेरो कथा.., हिमालसरि अग्लिरहेछु…’, सन्तोष बस्याल र रजनी ऋदम राईले ‘तिम्रो मनमा लुकेको कुरा …’ गाएका थिए ।

कार्यक्रममा कवि तीर्थ श्रेष्ठले नारायण गोपाल भूत नभई वर्तमान र भविष्य भएको सुनाए । ‘नारायण गोपालको अगाडि स्वर्गीय राख्नुपर्छजस्तो मलाई लाग्दैन । उनी सबैको मनममा जीवन्त छन्, कैयन पुस्ताहरु माझ अझै जीवन्त रहनेछन्,’ उनले भने, ‘उनी विगत होइनन्, वर्तमान र भविष्य हुन् ।’

गायक विनोद बानियाँले नारायण गोपाल गायक, संगीतकारमात्रै नभएर कलाकारका लागि रियाज र साधना भएको बताए । ‘उहाँको गीत सुन्न जति मजा आउँछ, गाउन त्यति नै गाह्रो हुन्छ । यो उहाँको कला हो,’ उनले भने ।

नारायण गोपालको मृत्यु ०४७ साल मंसिर १९ गते काठमाडौंमा भएको थियो । त्यतिबेला उनको शवयात्रामा सहभागी भएकी सनैना पालिखे त्यतिधेरै मान्छे विपिको शवयात्रा पछि पहिलो पटक देखेको स्मरण गर्छिन् ।

‘उहाँको घर मेरो घर नजिकै थियो । त्यतिबेला म पद्मकन्या क्याम्पसमा पढ्थें । त्यो दिन (शवयात्रा भएको दिन) हामी स्कुलबाटै उहाँको शवयात्रामा गएका थियौं,’ पालिखेले सम्झिइन्, ‘त्यतिधेरै भिड अहिले पनि याद आउँछ ।’

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०९:४५
हजुरको प्रतिक्रिया